कोषको जग्गामा बनेका अबैधानिक संरचना हटाउन निर्देशन


टुरिजम पाना संवाददाता काठमाडौं । १६ माघ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरेर बनाइएका अवैधानिक संरचना खाली गराउन निर्देशन दिएका छन् । पशुपति क्षेत्र विकास कोषको सञ्चालक समिति बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकको एजेन्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचना सञ्चालनमा रहेको भन्दै तत्काल अवैधानिक संरचना हटाउन कोषका पदाधिकारीलाई निर्देशन दिए ।

पशुपति क्षेत्र विकास कोषको काठमाडौँ महानगरपालिका वडा नं ८ गाँचा पोखरी स्थित साबिक कित्ता नं ९३, हालको कित्ता नं १०२,३३३,३३५,११०,४१९,३११,२८६,११२,११७,२८३, गरी ३ रोपनी ६ आना १ पैसा जग्गा व्यक्तिले हडपेका छन्। त्यहाँ घरहरू निर्माण गरिएको छ।

त्यस्तै वडा नं ३ भगवान स्थानमा साबिक कित्ता नं ५१बाट हालको कित्ता नं १४३,१४४,६५,२८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोग चलन गर्दै आएको पाइएको छ। सिफल स्थित लामा पोखरी रहेको कित्ता नं १३५,१८०,८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोग चलन गर्दै आएका छन्।

गोठाटार स्थित पशुपतिको क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गा मध्ये हराएको २९ रोपनी जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत निर्णय गरेको छ।

बोर्डले ती जग्गामा रहेका संरचना कानुनी प्रक्रिया पुरा हटाउने र त्यसको प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहाले प्राविधिक मूल्याङ्कन आए लगतै जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन्।

त्यस्तै, पशुपति आर्यघाटको आरतीको विषयमा सत्य तथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति गठन गरिएको छ।

१६ माघ २०८०