पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट २०२३ सम्पन्न


टुरिजम पाना संवाददाता काठमाडौं । २० जेष्ठ २०८०

पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेशनलको मुख्य आयोजना एवं पोखरा महानगरपािलका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ देखि पोखरामा मार्ट शुरु भएको थियो ।

चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दीगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरुले जोड दिएका छन् ।

उनीहरुले बदलिंदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटाइजेशनलाई समेत संगसंगै लैजानुपर्ने बताए ।

यस्तै उनीहरुले विश्व पर्यटन विस्तारै कोभिड अघिको लयमा फर्किन थालपनि पर्यटनले आर्थिक मन्दिको असर ब्यहोरिरहेको बताए । विज्ञहरुका अनुसार विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नु पर्ने धारणा समेत राखेका छन् ।

नेपालमा पहिलोपटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकको विश्वास छ ।

सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढिको सहभागीता रहेको मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरुले विश्वको पछिल्लो पर्यटनको अवस्था,चुनौती र अबसर ,आर्टिफिसियल इन्टेलिजेन्स,सोशल मिडिया एन्फुलुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल गरेका थिए ।

 

कार्यक्रममा मालदिप्सका पर्यटन मन्त्री अब्दुल्ला मासुम, सहित विभिन्न देशका पर्यटनविज्ञ प्रोफेसर डा. वल्फजेन जर्ज अल्र्ट, प्रोफेसर अन यू लिउ,डा.चियुत मित्रचोव, मातुक मासु युसुफ, मधुवनी पेरेरा,एन्डयु स्टेपलेज, मार्ट गिब्कस, हर्बट युम, मयुर पटेल, श्रीधर किपारगुन,रकि फिलिप्स, फ्लोरियन सेन्जस्टिसमेज, रोशाबेला योङ्ग, पीटर साइमोन, डा.धनन्जय रेग्मी, नन्दिन लाहे थापा,लिजा चोग्याल, राज ज्ञवाली,उप्युल मजुम्दार, विनीता के. शाक्य, लक्की क्षेत्री लगायतले पर्यटनका विधि आयामबारे धारणा राखेका थिए।

सम्मेलनका अवसरमा पाटाको वार्षिक शिखर सम्मेलन, मुख्य कन्फेन्स, पाटा मार्ट बिटुबी , युथ सिम्पोजियम र नेपालको पर्यटकीय गन्तव्यको भ्रमण अनुभव साटासाट लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम समापनसंगै पाटा इन्टरनेसनलका अध्यक्ष पिटर साइमोनले नेपालले भव्य र व्यवस्थित रुपमा पाटा शिखर सम्मेलन तथा एडभेन्चर मार्ट आयोजना गरेमा बधाई दिँदै यो सम्मेलनले नेपाललाई सुन्दर,सुरक्षित र साहसिक पर्यटनको गन्त्वयका रुपमा चिनाउन सघाउ पुग्ने बताए ।

पाटा इन्टरनेशनल सुमन पाण्डे वार्षिक सम्मेलन तथा एडभेन्चर मार्ट भव्यरुपमा सम्पन्न भएको र यसले नेपाललाई साहसिक गन्त्वका रुपमा थप परिचित गराउने पुग्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य मदन आचार्यले अन्तरराष्ट्रियस्तरको यो कार्यक्रम आयोजनाले पोखरासंगै समग्र नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विभिन्न देशबाट सहभागी विज्ञ सदस्ययहरुका बीचमा भएको छफल अन्तरक्रिया सहितको पाटा मार्टले कोभिडपछि लयमा फर्किदै गरेको पर्यटनमा नयाँ आयाम थप्ने बताए ।

कार्यक्रमको गत मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।

२० जेष्ठ २०८०