‘सोक्ला रक क्लाईम्विङ महोत्सव’  आजबाट सुरू


टुरिजम पाना संवाददाता दोलखा । १८ जेष्ठ २०८०

‘सोक्ला रक क्लाईम्विङ महोत्सव २०८०’  आजबाट सुरू हुँदैछ ।

सोक्लाश्वरी पर्यटन बिकास समाजको आयोजनामा आज (बिहीबार) र भोलि (शुक्रबार) दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ मा हुँदैछ ।

माउन्टेन गाइड एसोसिएसन अफ नेपाल मोगानका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे शेर्पा र महासचिव रामकाजी तिवारीको टिमले  महोत्सव आयोजना गरेको हो ।

४०० मिटर उचाइमा रहेको सोक्लाको भीरमा हुने रक क्लाईम्विङले त्यहाँको ग्रामीण विकास, सडक सञ्जालको स्तरउन्नती, ग्रामीण पर्यटन प्रवर्द्धन, होमस्टेको अवधारणाको विकास गर्ने र स्थानीयमा आत्मनिर्भर तथा हुने अर्ग्यानिक उत्पादनमा समेत टेवा पुग्ने आयोजकले बिश्वास लिएको छ।

कुल १० लाख खर्च अनुमान गरिएको रक क्लाईम्विङमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाल आर्मीको टिमको समेत सहभागी हुनेछ । साथै, सगरमाथा आरोही रक क्लाईम्वरहरुको टिम पनि सहभागी हुने रक क्लाईम्विङमा स्काउट टिमको विशेष सहयोग रहनेछ । रक क्लाईम्विङमा निःशुल्क रूपमा सहभागी हुन पाउने बताउँदै संयोजक अर्जुन तामाङले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै साहसिक पर्यटन प्रवर्द्धनमा खास भूमिका रहने बताएका छन् ।

शोक्लाश्वरी पर्यटन विकास समाजद्वारा सोक्ला भ्याली क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धनका लागि सोक्ला रक क्लाईम्विङ महोत्सवको आयोजना गरिएको हो । सदरमुकाम चरिकोटबाट ८ किलोमिटरको दूरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेको छ ।

सत्य युगमा तामाकोशीलाई रोकेर ताल बनाउन कालिञ्चोक क्षेत्रबाट ल्याइएका डिलढुंगाहरु अहिले पनि सोक्ला गाँउमा इतिहास भएर उभिएका छन् । वन झाँक्री बस्ने गुफादेखि सोक्लाश्वर महादेवसम्मको कथा यो क्षेत्रको ऐतिहासिक किंवदन्ती बनेर रहेको छ । सोक्ला क्षेत्रमा माघ १ गते बाघ नुहाउने ढुंगेधारादेखि गुमडाँडा पर्वतसम्मको किंवदन्ती र नागबेली तामाकोशीको सुन्दरता हेर्न सकिने स्थानीय बताउँछन् ।

 

१८ जेष्ठ २०८०