पाथिभरामा बनेन केबलकार


टुरिजम पाना संवाददाता ताप्लेजुङ । ७ पुष २०८०

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन। उक्त आयोजनाको चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो।

त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानूनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो।

सो समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग समेत अन्तरक्रिया गरी राय लिएको र सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएपछि केबलकार निर्माणको प्रक्रिया तत्कालै अघि बढाउनुपर्ने निष्कर्ष निकालेको थियो।

यसै विषयमा केन्द्रित रहेर शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा उक्त केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग अन्तरक्रिया गरिएको छ। अन्तरक्रियामा सहभागी सबैले लामो समयदेखि यहाँ केबलकार बन्ने चर्चामात्र सुनिएको तर काम सुरु नभएको भन्दै निर्माणको काम तत्कालै अघि बढाउन माग गरेका थिए।

उनीहरुले यस प्रदेशकै एक गौरवको आयोजना बन्न सक्ने र ताप्लेजुङका स्थानीयवासीहरुले प्रत्यक्ष लाभ लिनसक्ने यस आयोजना तत्कालै अघि बढाउनका लागि स्थानीय र प्रदेश सरकारसँग आग्रह पनि गरेका थिए।

सो अन्तरक्रियामा प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्ना घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नागरिक नै अघि सरेर सघाइ आयोजनालाई सफल बनाउनुपर्ने भन्दै केबलकार निर्माणको काममा अब ढिला गर्न नहुने बताइन्।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताए। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी केबलकार सञ्चालनमा ल्याइने अध्यक्ष ढकालको दाबी थियो।

उनले भने, ‘हामीसँग अनुभव छ, हामीले गर्दै पनि आएका छौँ। जस्तो कि गैँडाकोटको मौलाकालिका र बुटवलको लुम्बिनी केबलकार पनि हामीले निर्माण सुरु गरेको लगभग १३ महिनाभित्रै सञ्चालनमा ल्याएका हौँ ।

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्ने छ। मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए।

मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए। केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले जानकारी दिए। सो केबलकारमा ४५ वटा डब्बा रहने पौडेलले जानकारी दिए।

केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवर्द्धनका लागि केबलकार लाभदायक बन्ने विश्वास राख्दै यसबाट पहिलो लाभ यहीँका स्थानीयलाई पुग्ने बताए।

केबलकार बनेपछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ। देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउने गरेका छन्।

 

 

७ पुष २०८०