पोखरामा लेक टु लेक साइकल ट्रयाकलाई एडिबीको १ अर्ब


टुरिजम पाना संवाददाता पोखरा । ३० कार्तिक २०८१

पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्रयाकको गुरुयोजनाका लागि छलफल गरिएको छ । विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो ।

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ किलोमिटर लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्रयाक पोखराका लागि महत्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गरे । ‘यसले संसारभरका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ,’ उनले भने, ‘पोखराको पर्यटन विकासमा यो महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ ।’ पोखरा महानगरपालिका वातावरणीय हिसाबले पनि स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्रयाक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने उनले विश्वास व्यक्त गरे ।

विकास साझेदार एसियाली विकास बैंकको करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकले पोखरामा रहेका सबै ताललाई जोड्ने छ । पोखराको दिगो पर्यटन विकास अन्तरगत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको हो । प्रारम्भिक चरणमा सुरु गरिएको यसमाथिको छलफलमा पोखरामा रहेका पर्यटन लगायत सरोकारवालाहरूको सहभागिता थियो ।

पोखरामा रहेका तालहरूलाई एक आपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी इनर र आउटर दुई वटा रुटहरू सहित विभिन्न स्थानहरूमा कनेक्ट रुटहरूका समेत निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्रयाक निर्माण हुनेछ ।

३० कार्तिक २०८१