पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्छ : मुख्यमन्त्री अधिकारी


टुरिजम पाना पोखरा । २३ माघ २०७९
फाइल तस्वीर

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा–१७ को २०औँ वार्षिकोत्सवको अवसरमा उनले प्राकृतिक सौन्दर्य एवं विभिन्न पर्यटकीय गन्तव्यका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारले पहल गर्ने बताए ।

पोखरा काठमाडौँपछि अत्यधिक सङ्ख्यामा पर्यटक आउने गरेको भन्दै उनले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटक भएको बताए । आरोहणको इतिहास रच्ने अन्नपूर्ण हिमालको काखमा अवस्थित पोखराको महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको पर्वतीय सङ्ग्रहालयको समग्र विकासमा प्रदेश सरकारका तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यसको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सङ्ग्रहालय सभ्यताको पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री अधिकारीले हिमाल र हिमालीका गतिविधिबारे एउटै छानामुनि अध्ययन अवलोकन गर्न सकिने पर्वतीय सङ्ग्रहालयले सहासिक पर्यटक प्रवर्द्धन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले सङ्ग्रहालयलाई मनोरञ्जनभन्दा पनि ज्ञानको भण्डारका रूपमा लिइनुपर्नेमा जोड दिँदै आवश्यक सामग्री सङ्कलनसँगै प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार डा गणेशबहादुर गुरुङले पर्वतीय सङ्ग्रहालय विश्वको सबैभन्दा ठूलो सङ्ग्रहालय भएको दाबी गर्दै यसलाई शैक्षिक एवं जीवनपयोगी बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

२३ माघ २०७९