हायात रिजेन्सीको पुनर्निर्माणः पर्यटनका लागि अवसर र चुनौती


उपासना शर्मा काठमाडौं । २५ कार्तिक २०८२

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेको काठमाडौँ बौद्ध चुच्चेपाटीस्थित पाँच तारे होटल हायात रिजेन्सीमा ठूलो आक्रमण भयो । करिब चार हजार आक्रमणकारीहरुले होटलका विभिन्न संरचनामा तोडफोड, लुटपाट र आगजनी गरे । यसबाट होटलमा ठूलो क्षति भयो र होटल तत्कालका लागि बन्द भयो ।

जेनजी आन्दोलनसँग कुनै साइनो नभएको होटलमाथिको यो आक्रमण एउटा सम्पत्तिमाथिको मात्रै आक्रमण नभइ नेपालको पर्यटन क्षेत्रमाथिको आक्रमण भएको धेरैको बुझाइ छ । नेपालको फ्ल्यागसिप होटलका रुपमा रहेको हायात रिजेन्सी पाँचतारे होटल मात्रै नभइ नेपालमा विदेशी लगानी, रोजगारी सृजना र अन्तर्राष्ट्रिय आतिथ्यको प्रतीक पनि हो ।

लामो समयदेखि नेपालको राजनीति, आर्थिक र सामाजिक परिवर्तनको साक्षी बनेको यो होटलले विगत दुई दशकमा हजारौं नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य संस्कृतिको परिचय गराएको छ ।
तर एकैदिनको हिंस्रक घटनाले आजसम्मको योगदानलाई चुनौती दिएको छ । होटलको अतिथि कक्षदेखि रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्य र अत्याधुनिक प्रविधियुक्त संरचनासम्ममा भएको क्षतिले नेपालको पर्यटन पूर्वाधार कति असुरक्षित छ भन्ने अवस्थाको उजागर गरेको छ ।

होटलमाथिको आक्रमण यो पहिलो होइन, यसअघि पनि अभौतिक रुपमा पटक–पटक आक्रमण भएका छन् । माओवादीको सशस्त्र द्वन्द्वदेखि गणतन्त्र स्थापना भएपछि पनि होटलमाथि पटक–पकट आक्रमणको प्रयास भएको छ ।

हायात रिजेन्सी होटल मात्रै होइन, नेपाल आउने विदेशी पाहुनालाई स्वागत गर्ने र विदेशीलाई नेपाल ल्याउने माध्यम पनि हो । नेपालमा विदेशी लगानी ल्याएर आजभन्दा साढे दुई दशकअघि सुरु भएको यो होटल विदेशीमाझ नेपाल चिन्ने माध्यम पनि हो । अन्तर्राष्ट्रिय चेन होटलका रुपमा यसले विभिन्न देशमा नेपालको पर्यटन प्रवर्द्धन समेत गरेको छ ।

तर जब विदेशी पर्यटक वा लगानीकर्ताले यस्तो समाचार पढ्छन्, उनीहरूको मनमा स्वाभाविक प्रश्न उठ्छ, ‘के नेपाल सुरक्षित छ? के मेरो लगानी सुरक्षित हुनेछ ?’ हामी सधैं नेपालको अपार पर्यटन सम्भावनाबारे गर्व गर्छौं, सगरमाथा, लुम्बिनी, जनकपुर, मुस्ताङ, पोखरा, र काठमाडौँको ऐतिहासिक सौन्दर्यको कथा सुनाउँछौं । तर सम्भावनाको कुरा गर्दा व्यवहारमा यस्ता घटना हुँदा त्यसको अन्तर्राष्ट्रिय असर गम्भीर हुन्छ ।

यस घटनाले नेपालको लगानी वातावरण कस्तो अस्थिर छ भन्ने सन्देश दिएको छ । विदेशी लगानीकर्ताले विगत आठ वर्षदेखि लाभांश पाउन नसकेको कुरा र हालको तोडफोडले उनीहरूको विश्वास थप कमजोर बनाएको छ । यदि यस्तो अवस्था सुधारिएन भने, नेपालमा दीर्घकालीन लगानी ल्याउने प्रयासहरू कमजोर बन्नेछन् ।

तर प्रत्येक संकटसँगै अवसर पनि आउँछ । हायातले यो संकटलाई अवसरका रूपमा लिएर पुनःनिर्माण र स्तरोन्नतिको प्रतिबद्धता जनाएको छ । कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठका अनुसार होटल अब अझ विस्तारित र आधुनिक स्वरूपमा, गुणस्तरीय सेवासहित पुनः सञ्चालनमा आउनेछ । प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले पनि आवश्यक सहयोगको आश्वासन दिएका छन्, यो सकारात्मक संकेत हो ।

अब सरकारको भूमिकामा निर्णायकता चाहिन्छ । यस्तो अन्तर्राष्ट्रिय ब्रान्डले पुनः विश्वास दिलाउन सक्ने वातावरण निर्माण गर्न कानुनी सुरक्षा, द्रुत स्वीकृति प्रक्रिया, र लगानीमैत्री नीति अपरिहार्य छन् । पर्यटन क्षेत्र केवल रोजगारी र विदेशी मुद्रा कमाउने माध्यम होइन; यो देशको पहिचान र सन्देश हो ।

हायातको पुनर्निर्माण नेपालको पर्यटन पुनरुत्थानको नयाँ अध्याय बन्न सक्छ । यस्तो संस्थाको पुनःस्थापनाले नेपालको विश्वसनीयता पुनःनिर्माण गर्नेछ र विदेशी लगानीकर्तालाई सन्देश दिनेछः नेपालले सिकेको छ, र अब सुरक्षित छ ।

यदि राज्य, निजी क्षेत्र र समुदायले मिलेर यो संकटलाई अवसरमा रूपान्तरण गरे, हायात केवल पुनर्निर्मित होटल होइन, नेपालको नयाँ सुरुवातको प्रतीक बन्नेछः एक यस्तो नेपाल जसले पर्यटन र लगानी दुवैमा स्थायित्व र विश्वासको आधार पुनःस्थापित गर्नेछ ।

२५ कार्तिक २०८२