इलाममा पर्यटन र संरक्षणको लक्ष्यसहित ‘रेडपाण्डा म्याराथन’ हुने


टुरिजम पाना फिक्कल । २७ मंसिर २०८२

इलामको पर्यटन सम्भावना उजागर गर्ने उद्देश्यले पुस १ गते ‘रेडपाण्डा म्याराथन’ आयोजना गर्न लागिएको छ। दीपज्योति युवा क्लबको पहलमा रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा हुने उक्त प्रतियोगिता इलाम सदरमुकामको चोक बजार (उचाइ १,१२० मि.) बाट सुरु भएर सन्दकपुर डाँडा (उचाइ ३,६१० मि.) सम्म ४४.२ किमि दूरीमा सम्पन्न हुनेछ।

कार्यक्रम निर्देशक राम रिमालका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका खेलाडीदेखि विभिन्न जिल्लाका १०० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। पुरुष र महिला दुवै समूहका विजेतालाई आकर्षक पुरस्कार छुट्याइएको छ—पहिलो हुनेले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ५० हजार र चौथोले ३० हजार रूपैयाँ प्राप्त गर्नेछन्।

स्थानीय स्तरका प्रतिस्पर्धीहरूका लागि पनि छुट्टै श्रेणी राखिएको छ, जसमा इलाम, पाँचथर र ताप्लेजुङका धावकहरू प्रतिस्पर्धा गर्नेछन्। यस श्रेणीमा पहिलो हुनेले २५ हजार, दोस्रोले २० हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार पुरस्कार पाउने व्यवस्था गरिएको क्लबले जनाएको छ।

रिमालका अनुसार जिल्लाको पूर्वाधार विकाससँगै खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने दीर्घ लक्ष्यसहित म्याराथन आयोजना हुन लागेको हो। “यसले इलामको प्राकृतिक र सांस्कृतिक आकर्षण अझै धेरै मानिससम्म पुर्‍याउनेछ,” उनले भने।

रेडपाण्डा संरक्षणमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले म्याराथनले संरक्षण, खेलकुद र पर्यटन—तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी पनि उपस्थित हुनेछन्।

आयोजनालाई सहज बनाउन सन्दकपुर गाउँपालिकाले प्रतियोगिता मार्गअन्तर्गतका सडक मर्मत कार्य थालेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए। “हाम्रै पालिकामा हुने यस्तो ठूलो कार्यक्रमले इलामको समग्र पर्यटन विकासमा योगदान पुर्‍याउनेछ,” उनले भने।

३,६३६ मिटर उचाइमा अवस्थित सन्दकपुर इलामकै अग्लो बिन्दु हो, जहाँबाट सूर्योदयसँगै नेपाल, भारत, भुटान र चीनका हिमालहरूको अद्भुत दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। भदौ ५ गते रेडपाण्डा दिवसका अवसरमा गर्ने योजना बनाइए पनि अविरल वर्षाका कारण प्रतियोगिता स्थगित भएको थियो।

नयाँ मितिमा पुनः तय भएको ‘रेडपाण्डा म्याराथन’ इलामको पर्यटन तथा संरक्षण अभियानमा माइलस्टोन बन्ने अपेक्षा गरिएको छ।

२७ मंसिर २०८२