‘जनताको जीवनस्तर उठाउन पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यक छ’: शंकर पोखरेल


टुरिजम पाना संवाददाता काठमाडौं । १ भाद्र २०८२

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताएका छन् ।

नेपाल बौद्धिक परिषद्द्वारा आयोजित ‘सांस्कृतिक कूटनीति: नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उनले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, “विकासको जग र मूलध्येय भनेको जनताको जीवनस्तर उठाउने नै हो, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्ने कुरा गरेर मात्रै हुँदैन । सम्पदालाई जीवनस्तर उठाउनका लागि जोड्न आवश्यक छ ।” उनले कुनै पनि ठाउँको विकास सोही क्षेत्र बुझेका मानिस र तिनकै सक्रियताबाट मात्र सम्भव हुने भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह गरे । महासचिव पोखरेलले पर्यटकलाई घुम्ने र रमाउने वातावरण बनाउन, पर्यटकको बसाइँ लम्ब्याउन सके मात्र पर्यटन र अर्थतन्त्रको विकास हुने भएकाले सोहीअनुसार नीति आवश्यक रहेकामा जोड दिए ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उनको धारणा छ । महासचिव पोखरेलले धर्म र संस्कृतिका ज्ञातालाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने बताए । “सांस्कृतिक कूटनीतिको कुरा गर्दा हामीले बुद्ध दर्शनलाई उपयोग गर्ने विषयबारे पनि सोच्नुपर्छ । यसलाई संसारले शान्तिको प्रतीकका रूपमा लिने गरेकाले हामीले लाभ लिन सक्नुपर्छ”, उनले भने “प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्न सक्छ । अब यसमा पनि ध्यान पुर्‍याउनुपर्छ ।”

१ भाद्र २०८२