पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको छ


टुरिजम पाना पोखरा । ४ फाल्गुन २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन् ।

आज पोखरा विमानस्थलमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको बताएका हुन् ।

गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन् । उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन समेत दिए । पोखराका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग गरेका छन् ।

पर्यटनमन्त्री किराँतीले पोखरामा गत माघ १ गते भएको विमान दुर्घटनापछि मनोवैज्ञानिक आतङ्क रहेकाले त्यसलाई न्यूनीकरण गर्नु आवश्यक रहेको बताए ।

स्याङ्जाको दरौं सिरुवारी होमस्टेको रजत जयन्तीको अवसरमा सहभागी हुन किराती पोखरा पुगेका हुन् ।

४ फाल्गुन २०७९