गैरकानूनी रुपमा राइड शेयरिङ गर्नेहरू धमाधम कारबाहीमा, एकैदिन ३३३ चालकले तिरे जरिवाना


टुरिजम पाना काठमाडौं । ४ फाल्गुन २०७९
फाइल तस्वीर

नेपालमा दर्ता बिना नै लामो समयदेखि सञ्चालनमा आइरहेको राइड शेयरिङ एप इन्ड्राइभर चलाउने १७ चालक कारबाहीमा परेका छन् ।

उपत्यकाका विभिन्न स्थानबाट ती चालकहरूलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले जानकारी दिए ।

उनका अनुसार, इनड्राइभरका नाममा गुनासो आएपछि ती चालकहरूलाई कारबाही गरिएको हो । उनीहरूले सवारी साधन किन्दा उल्लेख गरिएको प्रयोजनभन्दा बाहिर रही सवारी साधन चलाएको पाइएको प्रहरी नायब महानिरीक्षक चौधरीको भनाइ छ ।

निजी प्रयोजनमा दर्ता भई भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न ठाउँबाट इनड्राइभरका चालकहरूलाई कारबाही गरेको हो ।

पछिल्लो समय राइड शेयरिङ एप चलाउनेहरूले गुनासो बढी गरिरहेकाले यसबारे ट्राफिक प्रहरी पनि गम्भीर बन्दै गएको हो ।

केही समयअघि मात्रै कोटेश्वरबाट सयभन्दा बढी सवारी चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले पछिल्लो दिन दिनमा नै करिब हजार सवारी चालकलाई कारबाही गरिसकेको छ ।

गुनासोका आधारमा तीन दिनअघि मात्रै २८१ जना चालकलाई कारबाही गरेको ट्राफिक प्रहरीले मंगलबार ३५० जना र बुधबार ३३३ जना चालकलाई कारबाही गरेको छ ।

उनीहरूलाई एक हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना लिने गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

‘यो पनि एक किसिमको ट्राफिक नियम नै हो, सोही बमोजिम कारबाही हुने गरेको छ,’ उनले भने ।

यसमा यात्रु आफैं पनि सचेत हुनुपर्नेमा जोड दिए । यात्रु वा अन्य जो कोहीले पनि ट्राफिक नियम पालना नगरेको, प्रयोजन विपरित सवारी साधन चलाएको पाएमा ट्राफिक कन्ट्रोल नम्बर १०३ मा फोन गर्ने वा सामाजिक सञ्जालमार्फत नै गुनासो गर्न सकिने उनले बताए । गुनासो आएपछि सुनुवाई हुने समेत उनको भनाइ छ ।

४ फाल्गुन २०७९