इन्जिनियर बन्ने सपना त्यागेर २७ वर्षमै होटलको म्यानेजर

निरन्तरको मेहनतले सफल भएका बगालेको कथा


सोनी शाही काठमाडौं । ११ चैत्र २०७९

गोरखाको बारपाकमा जन्मिएका सुदिप बगाले सानै उमेरमा नेपालको ‘हस्पिटालिटी’ क्षेत्रमा जमेका युवा हुन् । हस्पिटालिटी क्षेत्रमा जम्दै गरेका बगाले यतिखेर उमेरले जम्मा २७ वर्षका भए । २७ वर्षको उमेरमा उनी पर्यटकीय हिसाबले विशेष मानिने होटलको म्यानेजरको भूमिकामा रहेका छन् । विगत तीन वर्षदेखि ‘पहाडकी रानी’ उपनामले चिनिने बन्दिपुरको काखमा रमाइरहेका छन् बगाले ।

उसो त, बन्दिपुर बगालेको कर्मभूमि हो । गोरखाको बारपाकमा वि.सं. २०५३ सालमा जन्मिएका बगाले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा जम्दै गएका युवा हुन् । उनको बाल्यकाल जन्मघर बारपाकको सुलिकोटमा बित्यो । एसएलसीसम्म सुलिकोटमै बिताएका उनले ‘प्लस टु’ भने काठमाडौंको क्यानभास इन्टरनेसनल कलेजबाट गरे ।

बाल्यकालदेखि वयष्क हुँदासम्म उनले थुप्रै योजनाहरू बुने । बाल्यकालदेखि नै इन्जिनियर बन्ने सपना बोकेका बगालेले ट्राभल एण्ड टुरिजममा प्लस टु सम्मको अध्ययन गरे । इन्जिनियर बन्ने सपनालाई थाती राख्दै उनले नेपाल र विश्वको पर्यटन बुझ्ने उनको सोच थियो । तर, उनले काठमाडौंको भृकुटीमण्डप स्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट आर्ट्समा ब्याचलर गरे ।

प्लस टु अध्ययनकै क्रममा उनले पर्यटकीय क्षेत्र ठमेलमा एक होटलमा काम गर्ने अवसर पाए । ठमेलको होटल याम्बु उनले काम सुरु गरेको पहिलो होटल हो । त्यहाँ उनले रिसेप्सनमा बसेर काम गरे, करिब २ वर्ष । आजभन्दा करिब ९ वर्ष अगाडि गरेको कामको अनुभव सम्झँदै बगाले भन्छन्,‘प्लस टु अध्ययनकै क्रममा सो रेस्टुरेन्टमा मैले काम गरेको थिएँ, काम गर्दा गर्दै होटल क्षेत्रमा रमाउन थालिसकेछु ।’

त्यसपछि पारिवारिक तथा व्यक्तिगत कारणले बगालेको ब्याचलर अध्ययन बीचमै रोकियो । त्यसपछि उनी रोजगारीका लागि दुबई पुगे । दुबईमा पनि उनले रेस्टुरेन्टमै काम गरे । ‘एक इजिप्टियन होटल थियो, त्यसमा मैले बार स्टारको भूमिकामा काम गरेको थिएँ,’ बगाले सम्झन्छन् । दुबईमा दुई वर्ष बिताएपछि उनी नेपाल फर्किए ।

दुबईमा समेत रेष्टुरेन्टमा नै काम गरेका उनीसँग प्रशस्त अनुभव थियो । त्यो अनुभव र काममा आएको निखारताले उनलाई छोटो समयमै महत्वपूर्ण जिम्मेवारी दिलायो । बगालेले नेपाल फर्किएपछि पोखराको होटल हिमालयन स्टारमा उनले रूपमा जागिर शुरू गरे–म्यानेजर पदबाट ।

त्यहाँ एक वर्ष म्यानेजर पदमा काम गरेपछि उनले बन्दिपुरमा रहेको बन्दिपुर माउन्टेन रिसोर्टमा म्यानेजरको जिम्मेवारी सम्हाले । रिसोर्टमा उनले करिब ३ वर्ष बिताइसकेका छन् । तीन वर्षको अवधिमा उनले आफूलाई निकै सफल बनाइसकेका छन्, हस्पिटालिटी क्षेत्रमा ।

निरन्तरको मेहनतले दिएको सफलता

एसएलसी सकिएपछि इन्जिनियर बन्ने सपना बुनेका बगाले पछि मात्रै हस्पिटालिटी क्षेत्रमा ‘डाइभर्ट’ भएका थिए । प्लस टु अध्ययनकै क्रममा सामान्य जीविकोपार्जनका लागि रेस्टुरेन्टमा काम गर्न पुगेका उनलाई पछि त्यही क्षेत्रमै रमाइलो लाग्न थाल्यो । ‘गरिरहेको काममा ‘इन्जोय’ गर्न थालेपछि त्यसले एक किसिमको सफलता दिँदो रहेछ,’ बगाले विगत सम्झँदै भन्छन् ।

उनले पोखराको हिमालयन स्टारमा म्यानेजर बन्नु अघि काठमाडौंकै अन्य दुई होटलमा म्यानेजरको भूमिकामा काम गरेका थिए । साथै ठमेलको ३ स्टार होटल एचडी एण्ड बडी, ठमेलमा सेल्स एक्युकेटिभको भूमिकामा काम पनि गरेको उनीसँग अनुभव छ । उनले म्यानेजरको भूमिकामा काम गरेको नै ५ वर्ष पुगिसकेको छ । हस्पिटालिटी क्षेत्रमा काम गरेको छोटो समयमै महत्वपूर्ण उपलब्धि आफूले हात पारेको बगालेलाई महशुस हुन्छ ।

‘सफल हुनका लागि मेहनत चाहिने रहेछ, मैले गरेको मेहनत अनुसार नै म अहिले यहाँ जम्दै गएको छु जस्तो लाग्छ, काममा दिने योगदान नै मुख्य कुरा रहेछ,’ बगाले भन्छन् ।

भविष्यमा पनि हस्पिटालिटी क्षेत्रमै काम गर्ने उनको सोच छ । उनी भन्छन्,‘हरेक दिन नयाँ मानिससँग भेट्न पाउनु, उनीहरूको नयाँ नयाँ समस्या वा अनुभवसँग जानकार हुन पाउनु हस्पिटालिटी क्षेत्रको रमाइलो पाटो हो ।’ उनले हस्पिटालिटी क्षेत्रमा आफूलाई यही रमाइलो पलले जमाइराखेको समेत उल्लेख गरे ।

११ चैत्र २०७९