पर्यटन व्यवसायीहरु मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहबाट हुने विकासले पदमार्गमा क्षति पुगेका गुनासो गरिरहेका छन् । उनीहरुका अनुसार स्थानीय तहमा भएका सडकलगायतका निर्माणले विश्वमै आकर्षक मानिएका पदमार्गहरु मासिने क्रममा छन् । केही पदमार्गको अवधि छोटो भएको छ । २० दिनसम्म यात्रा गर्नुपर्ने पदमार्ग सडकको सहज पहुँचले एक सातामै सीमित हुने अवस्था छ । यसले विदेशी पर्यटकको आकर्षण कम भएको उनीहरुको भनाइ छ । पदमार्गमा देखिएका समस्या, टिम्सको परिचालन तथा नीतिगत विषयमा केन्द्रित रहेर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का नवनिर्वाचित अध्यक्ष सागर पाण्डेसँग टुरिजमपानाका लागि सोनी शाहीले गरेको कुराकानीको सम्पादित अंश ।
नेपाला विदशी पर्यटक आगमनको ट्रेन्ड कस्तो पाउनुभएको छ ?
नेपालमा समयअनुसार पर्यटकको वृद्धि भएको छैन । यसका विभिन्न कारणले छन् । कहिले सशस्त्र द्वन्द्व तर कहिले के नाममा पर्यटक आगमनले अपेक्षाकृत रुपमा गति लिन नसकेको देखिन्छ । करिब ३० वर्ष अघि नेपालमा वार्षिक पाँचदेखि छ लाख पर्यटक आउने गरेकामा अहिले त्यो संख्या बल्ल दोब्बर पुगेको छ । पर्यटकको संख्याको वृद्धिदर निकै सुस्त छ । हाल नेपालमा ३५ लाखभन्दा बढी पर्यटकलाई वार्षिक सेवा दिन सक्ने होटललगायतका पूर्वाधार छन् । तर पर्यटक आगमन भने आधा पनि छैन । यसले व्यवसायीको लगानीलाई जोखिममा पारेको छ ।
पहिले पर्यटन क्षेत्र भन्ने वित्तिकै ट्राभल र ट्रेकिङ भन्ने बुभिन्थ्यो । होटल तथा रेष्टुरेन्टहरू पनि सीमित थिए । तर पछिल्लो समय पर्यटन क्षेत्रमा धेरै परिवर्तन आएका छन् । हस्पिटालिटी टुरिजम, स्पोर्टस् टुरिजम, एड्भेन्चर टुरिजम, इन्टरटेनमेन्ट टुरिजम लगायतका क्षेत्रमा पर्यटकहरूको आकर्षण बढिरहेको छ । यति हुँदाहुँदै पनि संसारले हामीलाई चिनेको क्षेत्र अर्थात् पदयात्रामा भने उल्लेख्य रुपमा संख्या बढेको छैन । त्यसमाथि पछिल्लो समय विकासका नाममा पदमार्ग मास्ने प्रवृतिले यसको संरक्षणमा पनि चुनौती थपिएको छ ।
पदमार्गमा के कस्ता समस्या छन् ?
अन्य क्षेत्रमा जसरी नै ट्रेकिङ क्षेत्रमा पनि धेरै समस्या छन् । अहिलेको मुख्य समस्या भनेको पदमार्ग खुम्चिनु, बाटो विस्तारका क्रममा पदमार्ग मासिनु, नयाँ पदमार्ग पहिचानमा चुनौतीलगायतका विषयहरूलाई प्राथमिकतामा राखि विभिन्न कामा भइरहेका छन् ।
पदयात्रा र पदमार्ग सुधारका लागि हाम्रो पहिलो योजना भनेकै स्थानीय निकायसँग समन्वय गर्नु हो । किनभने प्रत्येक स्थानीय निकायले आफ्नो क्षेत्रमा कसरी पर्यटक बृद्धि गर्ने र उनीहरूलाई कसरी पदयात्रा गराउने भन्ने विषयमा पूर्णरुपमा जानकारी हुन्छ ।
यसमा प्राविधिक सहयोग टानबाट गर्ने र अन्य जिम्मा स्थानीय निकायलाई दिने योजना छ । स्थानीय निकायसँगको समन्वय बिना कुनै पनि पदमार्गको सुधार सम्भव छैन । यसका लागि वार्षिक बजेट छुट्याउन लगाउने, विभिन्न नियमहरू कार्यान्वयनमा ल्याउने, दातृ निकायबाट आएको सहयोग पनि त्यहीँलगाउने र सोही अनुरूप रिब्रान्डिङ गर्ने लगायतका कार्यहरू गर्ने योजनामा छौँ । अहिलेको अवस्थामा कतिपय पदमार्गहरूमा यातायातको सुविधा भएका कारण पनि पर्यटकहरूको आकर्षण कम भएको देखिन्छ ।
गाइड र कम्पनीबीच पनि समय समयमा समस्या आइरहेका हुन्छन् नि ?
नेपालमा ट्रेकिङ व्यवसाय सुरु भएदेखि नै गाइड र कम्पनीबीचमा समस्या देखिएको छ । एउटा समस्या भनेको गाइड र भरियाले कम ज्याला पाउनु र अर्को दुर्घटना भएमा क्षतिपूति बेहोर्ने कुरामा समस्या देखिन्छ । यसको समाधानका लागि टानले मेरो कार्यकालको पहिलो बैठकले टान अक्षयकोष–२०२४ लागू गर्ने निर्णय गरेको छ । जस अनुसार, पथप्रदर्शक, भरियाहरू यात्राका क्रममा घाइते भएमा, बिरामी भएमा, अंगभङ्ग भएमा वा मृत्यु भएमा निश्चित क्षतिपूर्ती सो कोषबाट दिने निर्णय भएको हो ।
यसका लागि भने टानसँग आवद्ध भएको हुनुपर्ने नियम छ । यस्ता निर्णयले व्यवसायी र सम्बन्धित सबैलाई टानमा आवद्ध हुन आकर्षण गर्ने विश्वास छ । दुर्घटनाको क्रममा कुनै गाइड वा भरियाको मृत्यु भएमा सोको परिवारले कम्तीमा क्षतीपूर्ति वापत ४० देखि ५० लाख पाउन भन्ने हाम्रो उद्देश्य हो । यती रकमले सो परिवारले कम्तीमा एउटा सानो व्यवसाय गरेर भएपनि बालबच्चालाई पढाउन र सहज जिवन बिताउन सकोस भनेर नै यो निर्णय गरेका हौँ ।
अर्को तर्फ यो निर्णयले कम्पनीलाई पनि सहज बनाउँछ । जस्तै कुनै एउटा कम्पनी भर्खरै सञ्चालनमा आएको छ भने क्षतिपूर्ति बेहोर्ने सो कम्पनीलाई निकै गाह्रो हुन्छ । त्यसैले कुनै पनि व्यवसायीले भोट हाल्नका लागि मात्र टानको सदस्यता लिने होइन, आफ्नो व्यवसायलाई सहज र नीतिगत तरिकाले सञ्चालन गर्नका लागि टानमा आवद्ध हुन जरुरी छ ।
टिम्सको रकम सदुपयोग कसरी गर्न सकिन्छ ?
टिम्स (ट्रेकर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम) लागू भएको समयमा स्थानीय निकाय बनेको थिएन । कर्मचारीहरूको मातहतमा रहेर सबै कामहरू गरिन्थ्यो । कुनै एउटा पुल निर्माणका लागि पनि टानकै मुख टाक्न पर्ने अवस्था थियो । किनभने प्रत्यक्ष रूपमा पदयात्रा टानसँग जोडिएको छ । त्यतिबेला टान र नेपाल टुरिजम बोर्डको बीचमा मात्र टिम्सको सम्झौता भएको थियो । तर अहिले स्थानीय निकाय आइसकेपछि कुन काम कसले गर्ने भन्ने कुरा नै ओझेलमा छ । त्यसकारण आगामी दिनमा त्रिपक्षीय सम्झौतामा लैजान जरुरी छ ।
हाम्रो योजना अनुसार नेपाल टुरिजम बोर्ड, टान, स्थानिय निकाय र राष्ट्रिय निकुञ्जले एउटै एमओयु गर्यौँ भने एकै प्रणालीबाट रकम संकलन गर्ने र एमओयुमा उल्लेख गरे अनुरुप स्थानीय निकायले पर्यटन प्रवद्र्धनमा खर्च गर्नका लागि निकाल्ने, राष्ट्रिय निकुञ्जले स्वच्छता र व्यवस्थापनका लागि खर्च गर्ने र टान र बोर्डले पनि सही र जवाफदेही तरिकाले सो रकम खर्च गर्ने गरी व्यवस्थापन गर्ने योजनामा छौँ ।
नेपालमा पर्यटक बढाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
यसका लागि हामीले मुख्य गरी तीन वटा रणनीतिहरू ल्याउन निकै जरुरी भइसकेको छ । जसमध्ये क्रसबोर्डर टुरिजम, विगतमा नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको सेवा पुनः सञ्चालन र नेपाल एयरलाइन्सको व्यवस्थापन हुन् । क्रसबोर्डर टुरिजमलाई हामीले प्राथमिकतामा राखि अघि बढ्ने हो भने तत्कालै परिणाम नदेखिएपनि भविष्यमा यसले पर्यटन क्षेत्रलाई उकास्न मद्दत गर्छ । हाम्रो छिमेकी राज्यहरूसँग लिंक रोडहरू, फास्ट ट्रयाकसँग जोडिनु जरुरी छ ।
हुन त कतिपय ठाउँहरूमा फास्ट ट्रयाक बनिरहका छन् तर परियोजनाका काम समयमै पूरा नगर्ने परिपाटीले राज्यले ठूलो नोक्सानी पनि बेहोर्नु परिरहेको छ । आजका दिनमा टेक्नोलोजीको प्रयोगले पर्यटकहरूले कुनै पनि ठाउँमा जानु अघि समय र रकमको हिसाब गर्छन् । किनभने उनीहरूले इन्टरनेटको सहयोगले पर्याप्त जानकारी संकलन गरिसकेका हुन्छन् । विगतमा कुनै पर्यटक नेपाल आउँदा एक हप्ताका लागि योजना बनाए पनि १० दिनसम्म लम्ब्याउँथ्यो भने अहिले यस्तो अवस्था देखिँदैन ।
यस्तै, विगतमा नेपालमा उडान भर्ने थाइ, सिंगापुर र लुपथान्सालगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पुनः नेपालमा कसरी ल्याउन भन्ने योजना बनाउनुपर्छ । जस्तै, अहिले थप विमानस्थलहरू निर्माण भइसकेको अवस्थामा ती एयरलाइन्सहरूलाई विभिन्न प्याकेजको व्यवस्था दिएर यहाँ ल्याउनुपर्छ । यसले पर्यटक र व्यवसायीलाई सहजता प्रदान गर्नुका साथै पर्यटन बृद्धिमा पनि सहयोग गर्छ ।
यस्तै, पर्यटन विकासका लागि आवश्यक तेस्रो पाटो भनेको नेपाल एयरलाइन्समा आमुल परिवर्तन ल्याउन जरुरी छ । अहिलेको अवस्थामा नेपाल एयरलाइन्सको व्यवस्थापन चुस्त दुरुस्त भएको पाइदैन । प्रत्येक दिन नेपाल एयरलाइन्ससम्बन्धी नकारात्मक समाचार बनेको पाइन्छ । हामी भने टुरिजम विकास गर्ने, पर्यटक संख्या बृद्धि गर्ने भन्दै मनलाई सान्त्वना दिइरहेका छौँ । जुन एयरलाइन्सको व्यवस्थापनलाई सवल नबनाएसम्म सम्भव नै छैन ।
कुनै समय जर्मनहरूले नेपाल एयरलाइन्स पाएसम्म अरु एयरलाइन्स चढ्दैनन् थिए । तर आज हामीले यस्तो प्रकारको विश्वसनियता गुमाएका छौँ । इयु ने नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको छ । उसले अनुगमन र कार्यान्वयन गर्ने निकाय एउटै भयो, यसलाई छुट्याएर एकले अर्कोलाई निगरानी गर्दा राम्रो परिणाम आउँछ भनेर भनिसकेको छ । तर बर्षौ बितिसक्दा पनि यो कार्य गर्न सकिएको छैन ।
यहाँले पर्यटक ऐन पनि संशोधनको कुरा उठाइरहनुभएको थियो, के छ समस्या ?
अहिलेको अवस्थामा पर्यटन व्यवसायीहरूको मुख्य समस्या भने नेपालको पर्यटन ऐन समयअनुकुल संशोधन नहुनु हो । अबको नेपालको पर्यटन ऐन प्रत्येक पाँच वर्षमा समीक्षा र परिमार्जन हुन जरुरी छ । किनभने विगतमा मानिसको जीवनशैलीमा कुनै पनि परिवर्तन आउनका लागि वर्षौ लाग्ने गर्दथ्यो । इन्टरनेट आउनुभन्दा अगाडि मात्र पनि मानिसको जीवनशैली २०औँ वर्ष पनि समान रहेको देखिन्छ ।
सोहीअनुसार नै मानिसको यात्रा गर्ने, खर्च गर्ने, प्याकेज किन्ने तरिकामा पनि धेरै परिवर्तन पाइरहेका छौँ । मानिसको गतिविधिमा नै परिवर्तन आएको छ भने हामीले बनाउने योजनामा पनि सोही अनुरुप नै परिवर्तन ल्याउन आवश्यक छ । अझ अन्य देशमा प्रत्येक वर्ष पर्यटन ऐनको समीक्षा हुन्छ । तर नेपालमा त्यो सम्भव छैन । त्यसै कारण कम्तीमा ५ वर्षमा पर्यटन ऐन समीक्षा र परिमार्जन हुन जरुरी छ र सरकारलाई यस विषयमा सचेत गराउने काम भइरहेको छ ।