उडान ग्रुपले होटल मेची क्राउनको व्यवस्थापन सम्हाल्ने सम्झौता


टुरिजम पाना काठमाडाैँ । २ आश्विन २०८१

भारतको प्रसिद्ध उडान होटल एन्ड रिसोर्ट ग्रुपले झापामा सञ्चालित पाँचतारे होटल मेची क्राउनको व्यवस्थापन सम्हाल्ने भएको छ ।

होटलले बुधबार आधिकारक रुपमा सूचना जारी गर्दै व्यवस्थापनको रुपमा उडान ग्रुप भित्रिएको घोषणा गरेको हो । उडानले गत साउन ३१ गतेदेखिनै व्यवस्थापन सम्हालेपनि १ महिनापछि औपचारिक घोषणा गरेको हो ।

यसअघि भारतको दार्जिलिङ, गान्टुक, सिक्किमस्थित लाचुङ, सिलगुडी र कालेपुङ क्षेत्रमा होटल निर्माण तथा सञ्चालन गर्दै आएका छन् । उडान ग्रुपले मेची क्राउन १२ वर्षका लागि भाडामा लिने गरि ‘लङटर्म लिज’ को सम्झौता गरिएको मेची क्राउनको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । सम्झौता अनुसार मेची क्राउनका सञ्चालकलाई आम्दानीसमेत बाँडफाँट गरिनेछ ।

सञ्चालनमा आएको छोटो समयमै वेडिङ डेस्टिनेसन र क्यासिनोका लागि रोजाइमा पर्दै आएपछि मेची क्राउनले १ वर्ष अघिबाट ६० करोड रुपैयाँ लगानी थपेर १ सय कोठा विस्तार गरेको छ । यससँगै होटलमा २ सय ५ वटा कोठा रहेका छन्। कोभिडपछि होटल व्यवसाय संकटमा परिरहेका बेला मेची क्राउनले राम्रो व्यापार गरिरहेको थियो । मेची क्राउनमा नेपालकै सबैभन्दा ठूलो क्यासिनो ‘भेगास’ रहेको छ । भेगास सञ्चालक कम्पनीको भारत गोवामा पनि सञ्जाल रहेकाले धेरै भारतीय मेची क्राउनको क्यासिनोमा खेल्न आउने गरेका छन् ।

होटल रहेको स्थानबाट भारतको बागडोरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा छ। सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिक नेपाल आउने गरेका छन् । पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन् ।

होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन्। दुईवटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ । आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। यसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै, स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन् ।

२ आश्विन २०८१