तातोपानी जान छैन पक्की पुल, व्यवसायी आफैंले काठेपुल बनाएपछि पर्यटकलाई सहज

कहिले बन्ला पक्की पुल ?


टुरिजम पाना काठमाडौं । १२ पुष २०७९

म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङ जाने बाटो छेउमै छ तातोपानी कुण्ड । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको यो कुण्डमा नुहाउन जानेको प्रायः घुइँचो लाग्छ । उक्त गाउँपालिकाको वडा नम्बर २ भूरुङ तातोपानीदेखि वडा नम्बर ६ पाउद्वारको तातोपानी कुण्ड जान पर्यटकहरू कालीगण्डकी नदी हुँदै जानुपर्ने हुन्छ । स्थानीयहरू बजार आउजाउ गर्ने मुख्य मार्ग पनि सोही नदी तर्दै जानुपर्ने हुन्छ ।

स्थानीयहरू बजार जानेमात्रै हैन पर्यटकहरू कुण्ड जान पनि सोही मार्ग प्रयोग गर्छन् । तर सो नदीमा पक्की पुल नहुँदा स्थानीय तथा पर्यटक सबैलाई सास्ती हुँदै आएको छ । वर्षा सिजनमा मात्रै हैन हिउँदमा पनि कालीगण्डकी तर्न मुस्किल पर्छ । तर त्यहाँ कुनै पक्की पुल नहुँदा स्थानीय तथा पर्यटकले सास्ती खेप्नुपरेको छ ।

पक्की पुल बनाउनका लागि पालिकाले पहल गरेपनि त्यो पहलले मूर्त रुप लिन सकेको छैन । जसका कारण स्थानीय तथा पर्यटकहरूले सो नदीमा सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाले तातोपानी कुण्डको व्यवस्थापनका लागि टेण्डर आह्वान गर्दै आएको छ । जसमा यस आर्थिक वर्षमा सो कुण्डको व्यवस्थापनको जिम्मा स्थानीय युवाकुमार तिलिजाले पाएका छन् । आफूले कुण्ड व्यवस्थापनको जिम्मा पाएपछि उनले सो नदीमा व्यक्तिगत रुपमा काठेपुल निर्माण समेत गरेका छन् । अहिले काठेपुल सञ्चालनमा आएपनि सो नदी तर्न सहज भइरहेको तिलिजाले टुरिजमपानासँग बताए ।

उनका अनुसार, ७ जना जनशक्तिले एक महिनामा सो पुल निर्माण सम्पन्न गरेका हुन् । एक लाख रुपैयाँ लगानी गरेर सो पुल निर्माण गरिएको उनले जानकारी दिए । कुण्डमा स्नान गर्न जाने बिरामी तथा पर्यटकहरूलाई समेत सहज हुने गरि पुल बनाएका हौँ, यसले आवातजावातमा धेरै नै सहज हुनेछ,’ तिलिजाले टुरिजम पानासँग भने ।

पुल बनाउनका लागि काठमा फ्ल्याक, बाँस तथा ग्याबिन जाली प्रयोग गरिएको छ । सुरक्षाका लागि पुलको दायाँबायाँ काठकै रेलिङ हालिएको छ, जसले पुललाई आकर्षक समेत बनाएको छ । काठेपुल सञ्चालनमा आएसँगै कुण्डमा स्नान गर्न जाने धार्मिक पर्यटक, वृद्धवृद्धा तथा स्थानीयसमेतलाई सहज भएको तिलिजाको भनाइ छ ।

अस्थायी पुल सञ्चालनमा आएसँगै ४५ मिनेटको दूरी पाँच मिनेटमै सीमित भएको तिलिजा बताउँछन् । ‘पुल नहुँदा बिरामी तथा वृद्धवृद्धाहरूलाई निकै गाह्रो थियो, ४५ मिनेट लाग्ने सडक पुल बनेपछि ५ मिनेटमै पुगिन्छ,’ उनले भने । वडा नम्बर २ का अध्यक्ष ओमप्रसाद फगतीले सो ठाउँमा झोलुङ्गे पुल बनाउन सर्भे गरिएको उनले बताए । उनले अघिल्लो वर्ष पनि सर्भे भएपनि पुलको काम भने हुन नसकेको बताए । उनले भने,‘यहाँ पुल आवश्यक छ, सरकारले नै बनाउँछ भन्ने अपेक्षा छ ।’

पालिका प्रमुख भन्छन् : पुल बनाउनेलाई सहयोग गर्छौँ

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सो नदीमा पुल बनाउनका लागि वडा नम्बर २ र वडा नम्बर ५ बीच विवाद हुने गरेको बताए । उनले सो नदीमा पुल अत्यावश्यक भएपनि वडाका स्थानीयहरूको कुरा नमिल्दा पुल बन्न नसकेको दाबी गरे । टुरिजम पानासँग उनले भने,‘पुल बनाउनका लागि पटक पटक पहल गरेका छौँ, अझै पनि पहल गर्छौँ, तर वडा नम्बर २ का स्थानीयहरूले पुल बनाउन नदिने अडान कसेर बसेका छन् ।’

उनले तिलिजाले कुण्डको व्यवस्थापनको जिम्मा पाएकाले नदीमा काठेपुल उनी आफैंले बनाएको बताए । उनले भने,‘विगतमा पनि कुण्ड व्यवस्थापनको जिम्मा जसले पाउँथ्यो, उसैले पुल बनाउने गरेको थियो, नौलो कुरा होइन ।’

यद्यपी पालिकाले केही आर्थिक सहयोग भने तिलिजालाई गर्ने उनको भनाइ छ । उनले भने,‘कार्यपालिका बैठकमा मैले कुरा राख्नेछु, उहाँलाई केही सहयोग गर्छौँ ।

१२ पुष २०७९