काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्ज–कार्लटनको नेपाल प्रवेशले पर्यटन तथा लगानी क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियट तथा चौधरी समूहका प्रतिनिधिहरूसँग भएको भेटमा अर्थमन्त्री वाग्लेले द रिट्ज–कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनाढ्य तथा उच्चस्तरीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।
ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्ज–कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको भोलिपल्ट भएको भेटमा अर्थमन्त्रीले नेपालमा लगानी विस्तार गरेकोमा म्यारियट समूहलाई धन्यवाद दिए। उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले आवश्यक नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको पनि उल्लेख गरे।
“द रिट्ज–कार्लटनको आगमनले अन्तर्राष्ट्रिय लगानीकर्तामा सकारात्मक सन्देश गएको छ। यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्नेछ,” अर्थमन्त्री वाग्लेले भने।
उनले म्यारियट समूहलाई काठमाडौंबाहिर पनि आफ्नो व्यवसाय विस्तार गर्न आग्रह गर्दै लगानी सुरक्षा, पूर्वाधार विकास तथा कानुनी सहजीकरणमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटले नेपाल विश्वस्तरीय पर्यटन गन्तव्य भएको उल्लेख गर्दै द रिट्ज–कार्लटनको उपस्थितिले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले नेपालमा थप लगानी विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका लागि ठूलो सम्भावना भएको मुलुक रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारी नीतिले लगानीकर्तामा उत्साह थपेको बताए।
भेटमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एसिया प्यासिफिक (चीनबाहेक) का अध्यक्ष राजीव मेनन तथा अर्थ मन्त्रालयका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।








