चर्चित नेपाली सेफ सन्तोष शाहको जीवनयात्राबाट प्रेरित कथानक चलचित्र ‘द टेस्ट अफ सल्ट’ विश्वप्रसिद्ध बर्लिनाले सह–निर्माण बजार २०२६ का लागि आधिकारिक रूपमा छनोट भएको छ।
विश्वभरबाट परेका करिब चार सय आवेदनमध्येबाट छानिँदै यो चलचित्र ‘आधिकारिक फिचर परियोजना’ श्रेणी अन्तर्गतका १९ उत्कृष्ट परियोजनामध्ये पर्न सफल भएको हो। आगामी फागुन महिनामा आयोजना हुने ७६औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अवसरमा यो परियोजना छ सयभन्दा बढी अन्तर्राष्ट्रिय निर्माता, वितरक, बिक्री प्रतिनिधि तथा लगानीकर्तामाझ प्रस्तुत गरिनेछ।
अवार्ड–विजेता निर्देशक दीपक रौनियारद्वारा निर्देशित यो चलचित्र नेपाल र बेलायतको सह–निर्माणमा बन्न लागेको हो। यसअघि ‘हाइवे’, ‘सेतो सूर्य’ र ‘पूजा, सर’ जस्ता चलचित्रमार्फत नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाइसकेका रौनियारका लागि पनि बर्लिनाले सह–निर्माण बजारमा यो पहिलो छनोट हो। साथै, नेपालबाट यस बजारमा छनोट हुने यो पहिलो परियोजना समेत हो।
नेपाल, भारत र बेलायतमा छायांकन हुने चलचित्रले सेफ सन्तोष शाहको संघर्षपूर्ण जीवनयात्रालाई केन्द्रमा राख्दै आप्रवासन, जातीय विभेद र निर्वासनजस्ता गहिरा सामाजिक विषयलाई खानाको माध्यमबाट प्रस्तुत गर्नेछ। अभाव, संघर्ष र आत्मसम्मानबाट सुरु भएको यात्राले कसरी विश्वस्तरीय सफलतासम्मको बाटो तय गर्छ भन्ने कथा चलचित्रको मुख्य विषयवस्तु रहेको छ।
चलचित्र निर्माणमा नेपालबाट निर्देशक दीपक रौनियार र निर्माता आशा मगरातीद्वारा सह–स्थापित आदि फिल्म्स तथा बेलायतबाट अनुभवी निर्माता स्याम टेलर नेतृत्वको फिल्म एण्ड म्युजिक इन्टरटेनमेन्ट संलग्न छन्। युरोपेली सिनेमाका अनुभवी निर्माता स्याम टेलरले यस सहकार्यलाई निर्देशक रौनियारको सिर्जनात्मक यात्राको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।
विश्वव्यापी रूपमा चर्चित पाककला प्रतियोगितामार्फत पहिचान बनाएका सेफ सन्तोष शाहले चलचित्रको अन्तर्राष्ट्रिय छनोटलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपालीको साझा गर्वको विषयका रूपमा लिएका छन्। उनका अनुसार, यो चलचित्र केवल आफ्नो जीवनी मात्र नभई नेपाली पाक सम्पदा, संघर्ष र पहिचानको सम्मानको कथा हो।
निर्देशक दीपक रौनियारका अनुसार, विश्वभर आप्रवासन र पहिचानसँग सम्बन्धित बहस चर्किरहेको वर्तमान समयमा यो कथा अझ सान्दर्भिक बनेको छ। चलचित्रले घर, नागरिकता र स्वीकृतिबाट वञ्चित गरिँदा व्यक्तिले भोग्नुपर्ने पीडा र त्यसबाट जन्मिने असाधारण सफलताको कथालाई प्रभावकारी रूपमा प्रस्तुत गर्नेछ।
बर्लिनाले सह–निर्माण बजारलाई विश्वकै प्रभावशाली चलचित्र लगानी र सहकार्य मञ्चमध्ये एक मानिन्छ। यहाँबाट छनोट भएका थुप्रै परियोजनाहरूले पछि कान्स, सन्डान्स तथा अस्करजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्।








