स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालकै पहिलो नवग्रह मन्दिर यतिबेला चर्चामा रहेको छ । सिद्वार्थ राजमार्गको हेलुबाट छोटो दुरीमा रहेको यो मन्दिर निर्माणसँगै दैनिकजसो पर्यटकको चहलपहल हुने गरेको छ ।
विगतमा स्याङ्जा पर्यटनको हिसाबले केबल ट्रान्जिट पोइन्ट मात्र थियो । सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पोखरा जाने होस् वा पोखराबाट सुनौली ओर्लिने यात्री, सबैका लागि स्याङ्जा गाडीको झ्यालबाट हेरिने एउटा जिल्ला मात्र बन्यो। पर्यटकहरू पोखराबाट सिधै मुस्ताङको मुक्तिनाथ, बागलुङ कालिका, गोर्खा मनकामना, पर्वतको कुश्मा, बन्दीपुर वा मनाङतर्फ मोडिए। तर, स्याङ्जाको माटोमा पर्यटकको पाइला बिरलै रोकिए। तर, नवग्रह मन्दिरको स्थापनासँगै यस मन्दिरमा पर्यटकहरुको घुईचो लाग्ने गरेको हो ।
हालै मन्दिर दर्शनका लागि पुगेका पोखराका एक ६० वर्षीय स्थानीयले भने,‘जीवनका ६० वर्ष यही बाटो भएर बुटवलपोखरा आउजाउ गरियो, तर स्याङ्जामा रोकिनुपर्ने कुनै कारण कहिल्यै भेटिएन। आज पहिलो पटक नवग्रह मन्दिरकै कारण स्याङ्जाको भित्री गाउँसम्म पुगियो।’ स्याङ्जाका अन्य पर्यटकीय स्थलहरूले वर्षभरिमा भित्र्याउने कुल पर्यटकभन्दा नवग्रह मन्दिरले छोटो समयमै धेरै मानिसलाई आकर्षित गर्न सफल भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार हरेक शनिबार ५ हजार भन्दा बढी भक्तजनको उपस्थिति हुने गरेको छ भने, विशेष अवसर मेला र पर्वहरूमा यो संख्या १० हजार भन्दा वढी पर्यटकहरुले दर्शन गर्ने गरेका छन् ।
मुक्तिनाथ, बागलुङ कालिका, गोर्खा मनकामना जाने धार्मिक पर्यटकहरू समेत अहिले आफ्नो तालिका थप गरेर नवग्रह मन्दिर आउने गरेका छन् । पर्यटकको आवागमन वृद्विसँगै स्थानीय अर्थतन्त्र र सडक किनारको व्यापारमा समेत उल्लेख्य बृद्वि भएको छ । राजमार्ग र मन्दिर जाने सडक किनारका पसल, होटल र रेस्टुरेन्टहरूमा ग्राहकको चाप बढ्ने गरेको र गाउँका किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल र हस्तकलाका सामग्रीहरूले सिधै बजार पाउँदा स्थायीहरु खुुसी देखिएको पोखरेलले बताए ।
सिद्धार्थ राजमार्गको वास्तविक लाभ लिन नसकेको स्याङ्जाका लागि यो मन्दिर केवल आस्थाको केन्द्र मात्र होइन, यो यहाँको ओझेलमा परेको विरासत फर्काउने बलियो आधार बनेको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । ४० वर्ष मुनिका ४० प्रभावशाली युवाहरूको सूचीमा पर्न सफल युवा मेयर प्रकाश तिवारीको परिकल्पनाले वर्षौँदेखि बाटो मात्र रहेको स्याङ्जालाई अहिले एउटा प्रमुख पर्यटकीय गन्तव्यमा परिणत गरिदिएको छ।
आठ हेक्टर क्षेत्रफलमा फैलिएको जलबराह धार्मिक वनभित्र नवभुजाकारको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । स्थापित मूर्तिहरू हिन्दू धर्मका ज्योतिषाचार्यको निर्देशनमा नर्मदा नदीको शिलाबाट भारतमा निर्माण गरिएको जनाइएको छ । मन्दिरको पिलरमा सूर्य, शुक्र, केतु, चन्द्र, मङ्गल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएका छन् । नौवटा भुजामा ग्रहअनुसारका रङ प्रयोग गरिएको छ ।
यो मन्दिर निर्माण भएसँगै नजिकैका पर्यटकीय गन्तब्य दक्षिण एसियाकै पहिलो होमस्टे सिरुवारी लगायतका गन्तब्यमा समेत पर्यटकको चहलपहल बढेको छ ।








