नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ। गत भदौ २४ गते जेन जेड आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएपछि केबलकार बन्द भएको थियो।
दुई महिनाभन्दा लामो समयपछि केवलकार पुनः सञ्चालनमा आएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए।
उनका अनुसार क्षतिग्रस्त भएको केबलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरूको मर्मत तथा सामान फेरेपछि केबलकार सञ्चालनमा आएको हो ।
केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरू आएर केबलकारको पुनर्निर्माण गरेका हुन्।
पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको समूहले लामो समय परीक्षण गरेपछि नियमित सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर पौडेलले बताए।
अब केवलकार पूर्ववत् तालिका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो।
केबलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको थियो। २०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिइसकेका छन्।








