त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल शाखा प्रमुख चुडाल अख्तियारको नियन्त्रणमा

स्रोत नखुलेको आठ लाख रुपैयाँ समेत बरामद


टुरिजम पाना काठमाडौं । ९ माघ २०७९
फाइल तस्वीर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई घुससहित नियन्त्रण लिएको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडालले आन्तरिक टर्मिनल सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग एक लाख ५० हजार घुस माग गरिरहेको सुचना पाएपछि अख्तियारबाट गएको टोलीले चुडाललाई नियन्त्रणमा लिएको हो ।

चुडालले एक लाख पचास हजार रुपैयाँ घुस लिइसके पश्चात कार्यकक्षबाट अख्तियारले नियन्त्रणमा लिई खानतलासी गर्दा निजको कार्यकक्ष भित्र रहेको स्टिलको दराजबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ समेत बरामद गरिएको प्रबक्ता भण्डारीले बताए ।

उनलाई नियन्त्रणमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

९ माघ २०७९