पर्यटन प्रवर्धन लागि ‘टुर दि ठाकुरद्वारा’


टुरिजम पाना नेपालगञ्ज । २५ माघ २०८१
फाइल तस्वीर

बाँके र बर्दियाको पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जबाट साइक्लिङ सुरु भएको छ ।

‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलमा झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगर लगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट १९६ जना सहभागी भएको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए ।

आगन्तु पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उनले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उनीरूलाई ती स्थानको जानकारी दिइने बताए । सातौँ संस्करणको रुपमा हिजो देखि सुरु भएको कार्यक्रम भोली माघ २६ गते सकिनेछ ।

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताए ।

उनले नेपालगञ्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिए ।यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उनले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताए ।

नेपालगञ्ज आएलगत्तै सबै पाहुनाका लागि भोली सम्म नै खाना र आवासको प्रबन्ध गरिएको छ ।

२५ माघ २०८१