४५ वर्ष पूरानो पर्यटन ऐन परिमार्जन हुँदै, मन्त्रालयले माग्यो सुझाव


टुरिजम पाना संवाददाता काठमाडौं । १८ श्रावण २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ वर्ष पुरानो पर्यटन ऐन परिमार्जन गर्ने प्रक्रिया सुरू भएको छ । मन्त्रालयले विधेयक निर्माणको काम सुरु गरेको मन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

२६ असारमा मन्त्रिपरिषद्ले ऐन परिमार्जन गरी संघीय पर्यटन विधेयक तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको हो । सोही अनुसार मन्त्रालयले विधेयक निर्माणको काम सुरु गरेको हो ।

नेपालमा अहिले पर्यटन एन २०३५ कार्यान्वयनमा रहेको छ । पर्यटन क्षेत्रमा विकसित नवीन विषयलाई कानुनमा समावेश गरी नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्वपूर्ण आधार बनाउने उद्देश्यसहित नयाँ ऐनको विधेयक निर्माण प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ ।

यस विधेयकका लागि व्यवसायी, पेशागत संघ संस्था, विज्ञ, अनुसन्धानकर्ताबाट सरकारले सुझाव मागेको छ । ३० दिन भित्र मन्त्रालयमा नयाँ ऐनका लागि सुझाव पठाउन सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

आगामी विधेयकले तीन वटै तहका सरकारबाट पर्यटन प्रवद्र्धनमा गर्ने योगदानसमेतलाई समट्ने तयारी गरिएको छ ।

१८ श्रावण २०८०