पर्यटन बोर्डले ल्यायो १ अर्ब ६० करोडको बजेट


टुरिजम पाना संवाददाता काठमाडौं । ३ श्रावण २०८२

नेपाल पर्यटन बोर्डले एक अर्ब ५९ करोड ९९ लाख ७० हजारको बजेट ल्याएको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको मिति २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।

बोर्डले सुरक्षित, भरपर्दा र आकर्षण पर्यटकीय स्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छवीलाई स्थापित गर्ने उद्देश्यसहित बोर्डले आफ्नो बजेट तथा कार्यक्रम ल्याएको हो । चालु आर्थिक वर्षमा बोर्डले नेपालमा पर्यटक आगमन कम्तिमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको छ ।

यसैगरी गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तिमा १५ प्रतिशतले वृद्धि गर्ने बोर्डको लक्ष्य रहेको छ । बोर्डले चालु आर्थिक वर्षमा कम्तिमा ५० वटा स्रोत बजारमा प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तिमा २५ वटा नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्न भएको छ ।

बोर्डको सेवा विस्तारका लागि प्रादेशिक कार्यालयहरु स्थापना गर्नेसमेत यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ । बोर्डले पर्यटन बजार व्यवस्थापन तथा प्रबर्द्धनका लागि ४३ करोड ६१ लाख विजियोजन गरेको छ । त्यसैगरी जनसम्पर्क तथा प्रचार-प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि २ करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरेको छ ।

त्यसैगरी नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्‍चालनका लागि ११ करोड ६६ लाख विनियोजन गरिएको छ । त्यसैगरी विशेष प्रबर्द्धनात्मक कार्यक्रमहरु बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम् मार्टका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ ।

३ श्रावण २०८२