नेपाल पर्यटन बोर्डले विभिन्न देशका प्रस्तावित नेपाली राजदूतहरूसँग अन्तर्क्रिया गरेको छ । पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न दूतावास, बोर्ड र पर्यटन व्यवसायीहरू बीच प्रभावकारी सहकार्य र समन्वय गर्ने उपायहरूका बारेमा छलफल आयोजना गरिएको हो ।
अन्तर्क्रियामा विभिन्न देशका प्रस्तावित राजदूतहरूले बोर्ड र दूतावासहरू बिचको सहकार्यबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न सकिनेमा जोड दिएका छन् । उनीहरूले नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, र साहसिक पर्यटनका अवसरहरूबारे प्रचार गर्न आफूहरूले हर सम्भव प्रयत्न रहने भन्दै अन्य प्रवर्द्धनात्मक पाटोमा बोर्डको साथ आवश्यक भएको बताएका छन् ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले दूतावासका लागि आवश्यक प्रवर्द्धनात्मक सामग्री तथा विदेशमा आयोजना हुने कार्यक्रममा समन्वय हुनुपर्नेमा जोड दिए ।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा कमलले नेपाललाई अल सिजन डेस्टिनेसनका रूपमा प्रचार गर्न सके पर्यटक आगमनमा वृद्धि हुने भन्दै राजदूतहरूसँग अपेक्षा गरिएको बताए ।
सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल पर्यटन बोर्डका गतिविधिबारे जानकारी गराउँदै आवश्यक सहकार्यका लागि बोर्ड सधैँ तयार रहेको बताए ।
कार्यक्रममा प्रस्तावित नेपाली राजदूत डा. शङ्कर शर्मा (भारत), प्रा.डा.कपिल श्रेष्ठ (दक्षिण अफ्रिका), चित्र लेखा यादव (अस्ट्रेलिया), सुन्नीमा तुलाधर (डेनमार्क), सेवा लम्साल (बेल्जियम तथा युरोपियन युनियन), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), जङ्ग बहादुर चौहान (रसिया), सनिल नेपाल (स्पेन), पूर्ण बहादुर नेपाली (श्रीलङ्का), प्रकाशमणि पौडेल (पोर्चुगल) लगायतको सहभागिता थियो । उनीहरूले पर्यटन आर्थिक कूटनीतिको महत्त्वपूर्ण क्षेत्र भएकोले नेपाल र नेपालीको हितका लागि आफूहरू काम गर्न प्रतिबद्ध रहेको बताएका थिए ।
कार्यक्रममा होटल अशोसिएसन नेपाल (हान), प्यासिफिक एशिया ट्राभल अशोसिएसन (पाटा), नेपाल अशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), स्कल इन्टरनेशनल, नेपाल राफ्टिङ एजेन्सिज (नारा), सोसाइटी अफ ट्राभल एण्ड टुरिजम अपरेटर्स नेपाल (सोट्टो), टुरिजम सिस्टर हुड अर्गनाइजेशन लगायतका संस्थाका अध्यक्षहरूको पनि सहभागिता थियो ।