प्रदेशका पर्यटनमन्त्रीलाई फाप्यो प्रदेशसभा निर्वाचन

५ प्रदेशका पर्यटनमन्त्री पुनः निर्वाचित


गोविन्द मरासिनी काठमाडौं । १४ मंसिर २०७९

गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचन प्रदेशका पर्यटनमन्त्रीहरुलाई फापेको छ । ७ वटा प्रदेशमध्ये ६ प्रदेशका वर्तमान पर्यटनमन्त्री उम्मेदवार रहेकोमा ५ प्रदेशका मन्त्रीहरु पुनः प्रदेश सभामा निर्वाचित भए ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा बाहेक चुनावी मैदानमा रहेका प्रदेशका मन्त्रीमध्ये प्रदेश नं २ का शत्रुधन महतो बाहेक अन्य सबै मन्त्रीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसबाट गण्डकी प्रदेशमा पर्यटनमन्त्री रहेका वाग्लुङका शर्मालाई पार्टीले टिकट नदिएको हो । सरकारका पर्यटनमन्त्री सहित धेरै मन्त्रीहरुले पराजय भोग्दा प्रदेशका पर्यटनमन्त्रीहरु भने पुनः जनताबाट निर्वाचित हुन सफल देखिए ।

नेकपा एकीकृत समाजवादीबाट इलाम निर्वाचन क्षेत्र नं १ (क) मा उम्मेदवार रहेकी प्रदेश नं १ की पर्यटनमन्त्री खिनु लङ्वन लिम्बु निर्वाचित भईन् । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी शोभा पराजुलीलाई पराजीत गरिन् । लिम्बुले १३ हजार ३ सय ७० मत पाउँदा पराजुलीले ११ हजार ३ सय ९४ मत पाईन् ।

मधेश प्रदेशमा भने पर्यटनमन्त्री र पर्यटन राज्यमन्त्री दुवैले पराजय भोगे । नेकपा एसबाट धनुषा ४ (ख) मा उम्मेदवार रहेका पर्यटनमन्त्री शत्रुधन महतो नेकपा एमालेका हरि नारायण महतोसँग पराजीत भए । शत्रुधनले १७ हजार ३ सय २ मत पाउँदा हरि नारायणले १५ हजार ९ सय ६० मत पाए ।

यस्तै पर्यटन राज्यमन्त्री रहेका नागेन्द्र राय यादवले रौतहट ३ (क) बाट लज्जास्पद हार व्यहोरे । यस प्रदेशमा स्वतन्त्रका केशव राय विजयी हुँदा राज्यमन्त्री यादव तेश्रो स्थानमा सिमित रहे । नागेन्द्रले ७ हजार ६ सय २२ मत पाउँदा विजयी केशवले १२ हजार २ सय २५ मत पाए । दोश्रो स्थानमा रहेकी जसपा नेपालकी पुजा चौधरीले १० हजार १ सय ३२ मत पाईन् ।

बाग्मती प्रदेशमा पर्यटनमन्त्री रहेका दिपेन्द्र श्रेष्ठ काठमाडौं क्षेत्र नं १ (क) बाट विजयी भए । नेपाली कांग्रेसको तर्फबाट उम्मेवदार रहेका श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजीत गरे । श्रेष्ठले ६ हजार ३ सय मत प्राप्त गर्दा शाहीले ३ हजार ५ सय ४ मत प्राप्त गरेका थिए ।

लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट पर्यटनमन्त्रीको जिम्मेवारीमा रहेका डिल्ली चौधरी पनि प्रदेशसभा निर्वाचनमा निर्वाचित भए । दाङ ३ (क) बाट उम्मेदवार रहेका चौधरीले एमालेका घनश्याम पाण्डेलाई हराए । चौधरीले १९ हजार ८ सय ५० मत पाउँदा एमालेका पाण्डेले १४ हजार ४ सय ५० मत पाए ।

कर्णाली प्रदेशका पर्यटनमन्त्री वीर बहादुर शाही पनि डोल्पा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भए । गठबन्धनको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका शाहीले नेकपा एमालेका धन चन्द्र बैजीलाई पराजीत गर्दै पुनः प्रदेश सभाको यात्रा तय गरेका हुन् । शाहीले ५ हजार २ सय ९५ मत पाउँदा एमालेका बैजीले ४ हजार ५ सय ९५ मत पाए ।

दार्चुला निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवार रहेका सुदुरपश्चिम प्रदेशका पर्यटनमन्त्री मानबहादुर धामी पुनः प्रदेशसभामा प्रवेश पाए । माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहेका धामीले नेकपा एमालेका रामदत्त जोशीलाई पराजीत गरे । धामीले १३ हजार १ सय ७१ मत ल्याउँदा जोशीले ११ हजार ८ सय ५६ मत मात्र ल्याए ।

१४ मंसिर २०७९