चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी


टुरिजम पाना संवाददाता काठमाडौं । १६ श्रावण २०८२

विश्व सम्पदा सूचीमा सूचीकृत  चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन्।

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतकाे अनुसार मन्दिरमा भारत लगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो। त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन्।

विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख १० हजार ४ सय रूपैयाँ राजस्व सङ्कलन गरेको छ। भारत लगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३ सयका दरले पर्यटन शुल्क बापत १७ लाख २६ हजार ८ सय रूपैयाँ राजस्व सङ्कलन भएको हो।

त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४ सयका दरले एक करोड एक लाख ८३ हजार ६ सय रूपैयाँ सङ्कलन भएको उनले बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए।

१६ श्रावण २०८२