पोखरामा ट्रेकिङ गाइड तालिमको आवेदन खुल्यो, कसरी सहभागी हुने ?

गाइडको संख्या भन्दा माग धेरै भएकाले तालिम आयोजना


टुरिजम पाना पोखरा । १ असार २०८०
trekking guide
फाइल तस्वीर : समिक्षा चाैधरी

पर्यटकीय नगरी पोखरामा ट्रेकिङ गाइड तालिमको आवेदन खुलेको छ । टान गण्डकी प्रदेशले न्याथम कलेजसँगको सहकार्यमा अगाामी असार २२ देखि दिने तालिमका लागि शुक्रबार (असार १) आवेदन खुला गरेको हो । आगामी असार १० गतेसम्म आवेदन दिन सकिनेछ ।

पर्यटकहरूलाई घुमाएर आम्दानी गर्ने सोच बनाएकाहरूलाई लक्षित गरि खुला गरिएको आवेदनका लागि पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ । छनौट भने असार १५ सम्म हुने छ ।

पोखरामा ट्रेकिङ गाइडको संख्याभन्दा माग धेरै भएकाले टान गण्डकीले तालिम दिन लागेको हो । तालिम एक महिनासम्म चल्ने तालिमपश्चात परीक्षा उतीर्ण भएमा लाइसेन्स पाउनेछ ।

१ महिनाको कोर्षपश्चात जाँचपछि गाइडहरूलाई तालिमपश्चात प्रमाणपत्र समेत दिइने टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए ।

पोखराबाट हुने बिआइ टिएम (ब्याचलर इन माउन्टेन टुरिजम)का शिक्षकहरूले ट्रेकिङ गाइडसम्बन्धी तालिम दिनेछन् ।

जसका लागि जनप्रिय क्याम्पस र पृथ्वीनारायण क्याम्पसको संस्कृति तथा इतिहासबारे अध्यापन गराउने शिक्षकहरू हुनुहुन्छ । तालिमको कोअर्डिनेटर न्याथम कलेजका ट्रेनर डाइरेक्टर रतन साउद छन् ।

यस तालिममा उत्तीर्ण हुनेले भोलिको दिनमा ट्रेकिङ गाइड गर्ने लाइसेन्स पाउँछन् ।

न्याथम कलेज र टान गण्डकी प्रदेशले आयोजना गर्ने भएको भएर सस्तो शुल्कमा लिन पाउने अवस्था भएको टान गण्डकी प्रदेशका अध्यक्ष पन्थीले जानकारी दिए ।

पोखरामा पदयात्रामा लागेका युवा र पदयात्रामा लाग्न चाहाने ट्रेनरहरुको लागि काठमाडौ गएर बसेर ट्रेनिङ लिन निकै खर्चिलो हुने भएकोले पोखरामै तालिमको व्यवस्था मिलाइएको हो ।

सन् १९९८ देखि हालसम्म टान गण्डकीले झण्डै १९ सय जनालाई ट्रेकिङ गाइड तालिम दिइसकेको अध्यक्ष पन्थीले जानकारी दिए ।

सन् २०१८ पछि कोभिडको कारणले तालिम समयमा हुन सकेको थिएन । कोरोना महामारीपछि भने अहिले पहिलो पटक तालिम सञ्चालन हुन लागेको हो ।

कसरी सहभागी हुने ?

आवेदन दिनका लागि कलेजले मापदण्ड बनाएको छ । तालिममा सहभागी हुनका लागि ट्रेकिङ पेशामा भरिया या गाइड भएर काम गरेको २ वर्षको अनुभव हुनुपर्नेछ भने इच्छुकले एसएलसी वा एसईई उतीर्ण गरेको हुनुपर्छ ।

यदि प्लस टु उतीर्ण गरेको छ भने अनुभव नपर्ने जानकारी दिए । गाइड बन्नका लागि सामान्य अंग्रेजी बोल्न जान्ने हुनै पर्ने मापदण्ड छ ।

तालिममा छनौट भइसकेपश्चात तालिमबापतको ८ हजार ६ सय रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागी हुनका लागि टान गण्डकी प्रदेशको लेकसाइडमा रहेको कार्यालयमा गएर आवेदन फारम भर्नुपर्छ ।

थप जानकारिको लागि टान गण्डकीको नम्बर ०६१-४५३०३३ मा सम्पर्क गर्न सकिन्छ ।

१ असार २०८०