“देवचुली १ मा फ्याक्ट्रीबाट केमिकलसहित निस्किएको फोहोरको लेदो मिसिएको पानी पिउँदै गैँडा । यदि यस्तै लापरवाही जारी रह्यो भने भोलि पुस्ताले किताबमा मात्र गैँडा देख्नुपर्ने दिन टाढा छैन ।”, ‘रुटीन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले शनिबार सामाजिक सञ्जालमा गैँडाले पानि खाइरहेको फोटो सार्वजनिक यस्तो लेखेका छन् ।
यो तस्बिर र यहाँ उठाइएको प्रश्न सामान्य लाग्न सक्छ, तर यो नेपालको वन्यजन्तु संरक्षण र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय हो।
नेपालले एक सिङ्गे गैंडाको संरक्षणमा विश्वमै उदाहरणीय सफलता हासिल गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या उल्लेखनीय रुपमा बढेको छ । यो नेपालको पर्यटनको लागि गौरवको विषय हो । तर यही सफलताको बीचमा नयाँ खतरा पनि उत्तिकै देखिन थालेको छ । त्यो हो औद्योगिक प्रदूषण । फ्याक्ट्रीबाट निस्कने रसायनयुक्त फोहोर पानी जंगल नजिकका नदी र खोलामा मिसिँदै छन् । जसले गैंडा, बाघ, हात्ती जस्ता वन्यजन्तुको स्वास्थ्यमा मात्र होइन, उनीहरुको बासस्थानलाई नै खतरामा पारिरहेको छ ।
वन्यजन्तु संरक्षण ऐन, २०२९ ले वन्यजन्तुको बासस्थानलाई प्रदूषणबाट जोगाउन स्पष्ट व्यवस्था गरेको छ । ‘राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरु प्रयोग गर्न निषिद्ध गरिएको’ कुरा स्पष्टसँग लेखिएको छ । ऐनले राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र बफर जोनमा प्रदूषण गर्ने गतिविधिलाई नियन्त्रण गर्नुपर्ने उल्लेख छ। तर व्यवहारमा यो कानुनको पालना कत्तिको भइरहेको छ ? भिक्टरले उठाएको प्रश्नले यही कुरालाई घचघच्याएको छ । गैंडाले केमिकल मिसिएको पानी पिइरहेको दृश्य कुनै अपवाद होइन, सम्भावित यथार्थ हो ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालको वन्यजन्तु पर्यटनको प्रमुख केन्द्र मानिन्छ । यो विश्वकै उत्कृष्ट जंगल सफारी गर्ने गन्तव्यहरूमध्ये एक हो । यहाँ एक सिङ्गे गैँडा, पाटे बाघ, हात्ती, घडियाल लगायत दुर्लभ जीवहरु पाइन्छन् । दर्जनौँ स्तनधारी, सयौँ चराहरुका साथै जैविक विविधताले यस क्षेत्रलाई विशेष बनाएको छ ।
चितवन जस्तो विश्वप्रसिद्ध पर्यटन गन्तव्यमा यदि गैंडाले प्रदूषित पानी पिउन बाध्य भए भने पर्यटकले के सोच्लान् ? नेपालको पर्यटनको मुख्य आधार नै स्वच्छ प्रकृति, हावापानी र वन्यजन्तु हो । यदि प्रकृति नै प्रदूषित हुँदै गयो भने पर्यटक घट्ने, स्थानीयको रोजगारी घट्ने र देशको आम्दानीमा असर पर्ने निश्चित छ ।
विकासको नाममा प्रकृति र वन्यजन्तुलाई मार्ने बाटो होइन, दुवैलाई सँगै लैजाने बाटो खोज्नुपर्ने देखिन्छ । फ्याक्ट्रीहरुले आफ्नो फोहोर व्यवस्थापन गर्नुपर्छ, सरकारले कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ र हामी सबै प्रकृतिप्रति जिम्मेवार बन्नुपर्छ ।
नत्र भिक्टरले भने जस्तै, भोलिका पुस्ताले गैंडा किताबमा मात्र देख्नुपर्ने दिन आउन सक्छ । त्यसैले नेपालको पर्यटन जोगाउने हो भने, प्रकृति जोगाउनु अनिवार्य छ ।








