संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’को शुभारम्भ भएको छ।
भक्तपुर दरबारस्क्वायमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गरे।
कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताए। उनले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गरे।
अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गरे।
“पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्”, उनले भने, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ।”
नेपालको सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना र महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिए।
प्रदेश र स्थानीय तहले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमका रूपमा प्राथमिकतामा राख्दै आएका उनले बताए।