मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध,उत्कृष्ट ‘वाइल्डलाइफ भ्यूइङ स्पट’बन्ने अपेक्षा


टुरिजम पाना नवलपरासी । ३० कार्तिक २०८२

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नमुना मध्यवर्ती सामुदायिक वनले अमलटारी क्षेत्रमा आउने पर्यटकका लागि वन्यजन्तु अवलोकन अनुभव थप सहज बनाउन वनभित्र सौर्य ऊर्जाबाट संचालित पानी प्रणाली निर्माण गरेको छ।

यसले गर्मीयाममा सिमसार सुक्दा वन्यजन्तु अन्यत्र सर्ने जोखिम घटाउने र पर्यटकलाई वन्यजन्तु नजिकबाट हेर्ने सहजता बढाउने उद्देश्य राखिएको छ।

कावासोती–१३ मा रहेको वनले १४२ फिट गहिरो स्वचालित बोरिङ जडान गरी वर्षैभरि स्थायी पानी आपूर्ति हुने व्यवस्था गरेको अध्यक्ष राजकुमार गुरुङले बताए। उनका अनुसार गर्मीमा पानी अभाव हुँदा गैँडा, मृग, हरिण, बँदेल, बाघ, भालुजस्ता जनावर बस्ती तथा सडकतर्फ धस्ने सम्भावना बढ्दै आएको थियो। पानीको सुनिश्चिततासँगै वन्यजन्तु आफ्नो बासस्थानमै टिक्ने भएकाले अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकले निश्चित रूपमा लाभ पाउनेछन्।

गत वर्ष पानी सुकेपछि जेनरेटर प्रयोग गर्न करिब ८० हजार रुपैयाँ खर्चिए पनि पर्याप्त आपूर्ति हुन नसकेपछि यस वर्ष हिमालय नेचर संस्थाको सहयोगमा करिब आठ लाख रुपैयाँ लागतमा सौर्य–पानी परियोजना सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

नमुना मध्यवर्ती सामुदायिक वन तथा यससँग जोडिएका गुन्द्रही ढकाहा, कृष्णसार र शान्तिकुञ्ज सामुदायिक वनलाई एकीकृत वन्यजन्तु अवलोकन क्षेत्रका रूपमा विकास गरिएको छ। अमलटारी घरबास क्षेत्रमा बस्ने पर्यटकलाई दैनिक रूपमा यिनै वनक्षेत्रमा लैजाँदा गैँडासहितका दुर्लभ वन्यजन्तु हेर्न पाउने अवसर बढेको छ।

अध्यक्ष गुरुङ भन्छन्, “स्थायी पानीको स्रोत नहुँदा वन्यजन्तु बाहिर सर्दै थिए, जसले पर्यटनमा प्रत्यक्ष प्रभाव पार्थ्यो। अहिले स्थायी बासस्थान निर्माण भएपछि अवलोकन प्रभावकारी हुने र पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्नेछ।”

यस व्यवस्थासँगै अमलटारी क्षेत्र उत्कृष्ट ‘वाइल्डलाइफ भ्यूइङ स्पट’ का रूपमा थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।

३० कार्तिक २०८२