इन्द्रसरोबर तालमाथि जिपलाइनको मज्जा, कति लाग्छ शुल्क ?


सोनी शाही काठमाडौं । ६ चैत्र २०७९

कुलेखानी स्थित इन्द्रसरोबर तालमाथि जिपलाइन सञ्चालनमा आएको छ । केही दिनअघिदेखि जिपलाइन सञ्चालनमा आएको कुलेखानी एड्भेञ्चर्स प्रालिका सञ्चालक पर्शुराम योञ्जनले जानकारी दिए ।

यो तालमाथि सञ्चालन गरिएको नेपालकै पहिलो जिपलाइन हो । छ सय मिटरभन्दा बढी लम्बाइ रहेको यस जीपलाइन इन्द्रसरोबर १ छरदार दोबाटोबाट शुरू भई इन्द्रसरोबर तालमाथिबाट टौमाठको दरकोट भन्ने ठाउँमा सकिन्छ ।

क्लासिक, टेण्डम (जोडी) र सूपरम्यान गरि ३ किसिमका जिपलाइन गर्न सकिने सञ्चालक योञ्जनले जानकारी दिए । जिपलाइनमा दुई वटा तारमा दुई जना सँगसँगै जान सक्नेछन् । एकअर्कालाई हेर्दै जान सकिने सो जिपलाइन निकै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।

कम्पनीले करिब २ करोड रुपैयाँ लगानीमा जिपलाइन सञ्चालनमा ल्याएको हो । इन्द्रसरोबरलाई काठमाडौं र हेटौंडा नजिकको पर्यटन हब बनाउने गरि अगाडि बढेको यस परियोजनाले सो स्थानमा अन्य विभिन्न पर्यटकीय गतिविधिहरू सञ्चालनको तयारी गरेको छ ।

कम्पनीले स्काइ वाक, मिनी बन्जी अर्थात फ्रि फल लगायतका गतिविधि सञ्चालनको तयारी गरिरहेको सञ्चालक योञ्जनले बताए ।

सञ्चालकद्वय योञ्जन र  राजकुमार बलामीले सो परियोजनामा लगानी गरेका हुन् । ७ करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन हुने यस परियोजना कम्पनीको करिब ३ रोपनी जग्गामा फैलिएको छ ।

उनीहरुले विगत लामो समयदेखि कुलेखानी आसपासमै होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । कुलेखानीलाई साहसिक पर्यटनको गन्तब्य बनाउने उद्देश्य अनुरुप जिपलाइन सञ्चालन गरिएको हो ।

कति लाग्छ शुल्क ?

जिपलाइन गर्दै तालको अवलोकन गर्न सकिने यस जिपलाइन चढ्नेले फर्कँदा डुंगा चढ्न पाउनेछन् । शुरुवाती चरणमा प्रतिव्यक्ति १ हजार ७ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै फोटो तथा भिडियोका लागि अतिरिक्त ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

कसरी पुग्ने ?

इन्द्रसरोबरमा जीपलाइनको मज्जा लिनका लागि काठमाडौंबाट करिब साढे एक घन्टा र हेटौंडाबाट करिब साढे दुई घन्टामै कुलेखानी पुग्न सकिनेछ । काठमाडौंबाट ३३ किलोमिटरको दूरीमा कुलेखानीमा कम्पनी रहेको छ ।

सार्वजनिक यातायातको सहजै पहुँच रहेको कुलेखानी बस तथा सुमोबाट पुग्न सकिन्छ । बसमा १८० र २८० रुपैयाँ सुमोका लागि बस भाडा लाग्ने छ । समयानुकुल सो मूल्यमा केही परिमार्जन हुन सक्नेछ ।

हेटौंडाबाट करिब ४५ किलोमिटरको दूरीमा कुलेखानीमा कम्पनी रहेको छ । बसमा भिमफेदी हुँदै कुलेखानी निस्कनका लागि सार्वजनिक बसमा करिब २५० रुपैयाँ र सुमोमा जानका लागि करिब ३५० रुपैयाँसम्म लाग्नेछ ।

काठमाडौं तथा हेटौंडाबाट इन्द्रसरोबर घुमेर एकैदिनमा घर फर्कन सकिनेछ । निजी सवारी साधनमा पनि कुलेखानी सहजै पुग्न सकिने हुन्छ ।

६ चैत्र २०७९