‘पार्टी बस’मा ५० प्रतिशतभन्दा बढी छुट

बसमा यात्रा गर्नुका साथै डिजे, ड्रिंक्स, पार्टी लगायतको सुविधा


टुरिजम पाना काठमाडौं । २५ आश्विन २०७९
party bus

‘पार्टी बस नेपाल’ले यात्रुहरूका लागि आकर्षक अफर ल्याएको छ ।

दशैँ बिदामा साथीभाइ तथा परिवारसँग रमाइलो यात्रा गर्न पार्टी बस प्रयोग गरेबापत ५० प्रतिशतभन्दा बढी छुट दिने व्यवस्था गरिएको पार्टी बस नेपालका अपरेसन म्यानेजर उमेश सुवेदीले जानकारी दिए । उक्त अफर सेप्टेम्बर २८ तारिखदेखि तिहारसम्मका लागि लागु गरिएको हो ।

‘दशैँ बिदालाई लक्षित गर्दै हामीले यो अफर ल्याएका हौँ । यसमा हरेक यात्रुले रोमाञ्चक र अरुभन्दा केही फरक अनुभव बटुल्नेछन्,’ सुवेदी भन्छन्, ‘समूहलाई मात्र नभई हामीले व्यक्ति वा भनौँ एक्लै आउन चाहने मानिसलाई पनि सेवा दिइरहेको हुनाले आकर्षण बढेको छ ।’

यस बसमा यात्रा गर्नुका साथै डिजे, ड्रिंक्स, पार्टी लगायतको सुविधा रहेको छ । बस रिजर्भेसनको हकमा काठमाडौंबाट पोखरासम्म ७५ हजार, धुलिखेल ४० हजार, सौराहा ५५ हजार, सुकुटे ४५ हजार र कुरिन्टार ४२ हजार रूपैयाँ शुल्क लाग्नेछ ।

यस्तै हरेक यात्रामा ५० प्रतिशतभन्दा बढी छुट दिने व्यवस्था रहेको छ । यसबाहेक बर्थडे पार्टी, एन्निभर्सरी लगायतका लागि पनि उक्त बस प्रयोग गर्न सकिनेछ ।
यस्तै, कोही एक्लै पार्टी बसको यात्रा गर्न चाहेको खण्डमा बेलुका ७ बजेपछि रिङरोड र भित्री शहरहरूको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

२५ आश्विन २०७९