।काठमाडौँ महानगरपालिकाले नर:दे (हाँडीगाउँ)को ऐतिहासिक पहिचान पुनर्जीवित गर्दै यस क्षेत्रलाई सांस्कृतिक तथा सम्पदा पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न थालेको छ । महानगरले रु नौ करोड ५० लाख लागतमा ५४ वटा घरको अग्रमोहडा मौलिक शैलीमा रूपान्तरण गर्ने काम अघि बढाएको हो ।
पूर्वलिच्छवि, वर्मा र लिच्छविकालीन सभ्यता बोकेको हाँडीगाउँ काठमाडौँ उपत्यकाकै प्राचीन बस्तीमध्ये एक हो । आधुनिक भवन र जीवनशैलीका कारण हराउँदै गएको यसको मौलिकता फर्काएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गुरुयोजनाअनुसार काम भइरहेको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।
वडा नं. ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिका अनुसार कृष्ण मन्दिरदेखि डबली हुँदै भवँर कु:सम्मको करिब ३०९ मिटर क्षेत्रलाई चरणबद्ध रूपमा पुनःनिर्माण गरिँदैछ । यस क्षेत्रमा पाटी, फल्चा, सत्तल, मन्दिर, सामुदायिक भवन, सडक र पेटीलाई परम्परागत नेवार वास्तुकलाअनुसार पुनर्जीवित गरिनेछ ।
घरहरूको अग्रमोहडामा झिँगटीको छाना, काठका बलेँसी, कार्नेस, परम्परागत झ्याल, देखिने इँटाका गारो तथा चार तला संरचनासहितको मौलिक ‘नेवार डिजाइन’ अपनाइनेछ । यस्तो संरचनाले पर्यटकलाई पुरानो काठमाडौँको जीवनशैली र वास्तुकलाको प्रत्यक्ष अनुभव दिलाउने अपेक्षा गरिएको छ ।
हाँडीगाउँको यो मार्ग किराँतकालीन टुँडालदेवी जात्रा, लिच्छविकालीन नारायण जात्रा लगायत वर्षभरि सञ्चालन हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्वहरूको मुख्य मार्ग हो । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, बुद्ध चैत्य, महादेव मन्दिर, परम्परागत इनार (जरु), दाफा भजन गाइने सत्तलजस्ता सम्पदाहरू अवस्थित छन् । वडाध्यक्ष प्रजापति भन्छन्, “हाँडीगाउँको पुरानो सहर क्षेत्रलाई मौलिक स्वरूपमा फर्काउन सके यहाँ हेरिटेज वाक, धार्मिक पर्यटन र सांस्कृतिक उत्सव पर्यटनको ठूलो सम्भावना छ ।”
गहनापोखरी, कुमार कार्तिकेय र भीमसेन मन्दिर, मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवी धारा, अंशुवर्माको वडापत्र डबली, कैलाशकुट भवनसँग जोडिएको ऐतिहासिक तलाउ, चारनारायण मन्दिरजस्ता सम्पदाले हाँडीगाउँलाई खुला संग्रहालय (Open Museum) जस्तै बनाउने विश्वास लिइएको छ ।
महानगरको यो पहल सफल भएमा हाँडीगाउँ काठमाडौँका अन्य ऐतिहासिक बस्तीसरह पर्यटन नक्सामा मजबुत रूपमा स्थापित हुने र स्थानीय अर्थतन्त्र, संस्कृति तथा पहिचान संरक्षणमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।








