११ औं पोखरा महोत्सव सम्पन्न, २ लाख ५० हजारले गरे अवलोकन


टुरिजम पाना पोखरा । ११ माघ २०७९

गत पुष २७ देखी पोखराको अमरसिंह चौरमा सञ्चालन भएको पोखरा महोत्सव सम्पन्न भएको छ ।

१४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागीनै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने वताए ।

महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरे भने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिएभने करिब १५ सय वालवालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए ।

महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक संगै अन्तराष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोक दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

११ माघ २०७९