रजत महोत्सव मनाउँदै स्याङ्जाको पर्यटकीय गाउँ सिरुवारी


टुरिजम पाना स्याङ्जा । २ फाल्गुन २०७९

दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीले रजत महोत्सव मनाउने भएको छ ।

सिरुबारी सामुदायिक होमस्टेको आयोजनामा फागुन ५ र ६ गते सिरुबारी गाउँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागी हुनका लागि पर्यटन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरिएको होमस्टेकी अगुवा उर्मिला गुरुङले जानकारी दिईन् ।

कार्यक्रममा गुरुङ सांस्कृतिक कार्यक्रम, सम्मान लगायतका गतिविधिहरु सञ्चालन गरिनेछ भने कृष्ण कँडेलको इन्द्रेणी समूहले फागुन ४ र ५ गते सांगीतिक प्रस्तुति समेत दिनेछ।

कार्यक्रममा पर्यटनमन्त्री किरातीसँगै गण्डकी प्रदेशका मन्त्रीहरु, पर्यटन बोर्डका प्रतिनिधि र स्याङ्जा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य राजु थापाको समेत सहभागीता रहने बताईएको छ । सिरुवारीमा होमस्टे सञ्चालनपछि जिल्लामा मात्र हैन्, देशभर नै होमस्टे सञ्चालनको लहर चलेको थियो ।

२०५४ सालमा आफ्नो गाउँको साथीहरुको सहयोगमा क्याप्टेन रुद्रमान गुरुङले ग्रामीण पर्यटन (होमस्टे) को स्थापना गरेका थिए । वि.सं. २०५७ मा यसलाई नेपालकै पहिलो नमुना पर्यटन गाउँ घोषणा गरिएको थियो । पर्यटकीय नगरी पोखराबाट करिब ४५ कि.मी पर रहेको सिरुवारी पुग्न सिद्धार्थ राजमार्गको नागडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै जान सकिन्छ ।

२ फाल्गुन २०७९