निर्माणाधीन कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र, कालोपत्रे नहुँदा पर्यटक र स्थानीय हैरान


टुरिजम पाना मुस्ताङ । ३० कार्तिक २०८२

मुस्ताङको कोबाङ–जोमसोम सडकखण्ड आठ वर्षदेखि निर्माणाधीन अवस्थामा अलपत्र परेपछि स्थानीयवासी र पर्यटकहरूले दैनिक सास्ती भोगिरहेका छन्।

उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम अन्तर्गत कोबाङ(जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ । यो सडक खण्ड २०७४ सालमा विस्तारीकरण र स्तरोन्नतिको काम सुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्रे नहुँदा धुलो, च्याप्प पानी र जोखिमपूर्ण यात्राका कारण यो क्षेत्रका बासिन्दा र भित्र–बाहिर आउने पर्यटकहरू प्रभावित भएका हुन्।

बेनी-जोमसोमको ७४ किमीअन्तर्गत कोबाङ(जोमसोम खण्डको करिब १७ किमी सडक निर्माण कम्पनीको लापरबाहीका कारण आठ वर्षदेखि अलपत्र परेको हो ।

पर्यटकले धुलो–धुवाँका कारण यात्रा असहज हुने, जीप र बसधनीले सवारी साधन बिग्रने जोखिम बढेको, तथा स्थानीयले दैनिक आवतजावत र बिरामी ढुवानीमा समेत समस्या परेको गुनासो गरेका छन्।

मुस्ताङको घाँसाबाट माथिल्लो स्थानसम्म कालोपत्र भइसक्दा कोबाङ-जोमसोम खण्डको तीन स्थानमा काम हुन सकेको छैन । कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकको चार खण्ड आर्थिक वर्ष २०७३र७४ मा ठेक्का सम्झौता भई निर्माण थालनी गरिएको थियो । पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानी जेभीले ११ मिटर चौडा सडक निर्माणसहित कालोपत्र गर्न रु ७० करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।

सुरुआती चरणमा उक्त खण्डमा निर्माण कम्पनीले काममा तीव्रता दिए पनि केही समयपछि ढिलासुस्ती गरेपछि काम रोकिएको थियो । लामो समयसम्म काम नगरेपछि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको थियो ।

आयोजनाको पटकपटकको ताकेता र कारबाहीको प्रक्रिया अघि बढाइपछि जेभीको मुख्य कम्पनी गौरी–पार्वतीले उक्त खण्डको जिम्मा लिएको थियो । गौरी पार्वती निर्माणमा फर्किए पनि आंशिक रूपमा मात्र काम भएको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण कामले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई कूल ठेक्का सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । सुरुआती ठेक्का सम्झौता भएको कोबाङ–जोमसोम सडकको हालसम्म सातौँ चरणमा म्याद थपको प्रक्रिया अघि बढेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर बाबुसाहेव बैठाले जानकारी दिए। उनका अनुसार हाल उक्त सडकको भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत छ ।

कोबाङ–जोमसोम सडकअन्तर्गत थासाङ गाउँपालिकाको टुकुचेमा ४०० मिटर कालोपत्र र ३०० मिटर आरसिसी प्रविधिको सडक विस्तार गर्ने काम बाँकी रहेको गौरी पार्वती निर्माण कम्पनीका प्रतिनिधि सुमन अधिकारीले बताए । यस क्षेत्रमा कालोपत्र र आरसिसी प्रविधिको ‘ड्रेन’ र ‘स्टक्चर’को काम सकिएको छ ।

साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार २०० सय मिटर कालोपत्र गर्न बाँकी रहेको अधिकारीले जानकारी दिए। जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब ५०० मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको उनले बताए।

कम्पनीका प्रतिनिधि अधिकारीले कोबाङ–जोमसोम सडकको सम्पूर्ण काम मङ्सिर मसान्तसम्म सम्पन्न हुने दाबी गरे । “हामीले जिम्मा लिएपछि कामलाई तीव्रता दिएका हौँ, सोहीअनुसार काम पनि भइरहेको छ”, उनले भने, “अहिले कामदार धान काट्न घर गएकाले काम रोकिएको हो, अब एक हप्ताभित्रै कामले निरन्तरता पाउने छ ।”

राष्ट्रिय गौरवको बेनी–जोमसोमअन्तर्गतको चौथो खण्ड कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ । कोबाङ–जोमसोम सडक पूरा भएमा मुस्ताङ र म्याग्दीको सिमाना घाँसाबाट कागबेनी–मुक्तिनाथसम्मको आवागमन सहज हुनेछ ।

३० कार्तिक २०८२