बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम संग्राहालय पछिल्लो समय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रको रूपमा उभिएको छ। मानव निर्मित करिब १०० मिटर लामो सुरुङभित्र सवा एक लाखभन्दा बढी शालग्राम शिला एकै ठाउँ अवलोकन गर्न सकिने सुविधा उपलब्ध भएपछि यहाँ पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो।
मुख्यतः मुस्ताङ यात्राका क्रममा रहेका आन्तरिक तथा भारतीय पर्यटकहरू संग्राहालयमा पाइला पसार्ने गरेका छन्। औसतमा दैनिक ३०० जना हाराहारी आगन्तुक आउने गरेको जानकारी संग्राहालयका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यले दिएका छन्। सार्वजनिक बिदाका दिन भने आगन्तुक संख्या एक हजार नाघ्ने गरेको उनले बताए।
गत चार महिनामै २५ हजारभन्दा बढी व्यक्तिले संग्राहालय घुमेको छ भने विगत वर्ष झण्डै दुई लाखले यहाँको अवलोकन गरेका थिए। पाँच वर्षअघि सर्वसाधारणका लागि खुला गरिएको यो संग्राहालयभित्र त्रिशूल आकारको सुरुङ, दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको भौगोलिक नक्साको आकृति, विभिन्न मठमन्दिरका नमूना संरचना तथा ३०० किलोसम्मका दुर्लभ शालग्राम शिला प्रमुख आकर्षण मानिन्छन्।
धार्मिक आस्थासँगै सांस्कृतिक चासो राख्ने पर्यटकहरू पनि यहाँ बढ्दै छन्। पश्चिम नवलपरासीकी एलिना खनालले मुक्तिनाथदेखि फर्किने क्रममा संग्राहालय अवलोकन गर्दा आफू अत्यन्त प्रभावित भएको बताइन्। “कालीगण्डकीमा अहिले शालग्राम कम पाइन्छ, तर यहाँ संरक्षण गरेर राखिएको देख्दा आश्चर्य लाग्यो,” उनले भनिन्।
चितवनबाट आएका टीकाराम पाठकले परिवारसहित भ्रमण गर्दा संग्राहालयभित्रको दामोदरकुण्ड–त्रिवेणीधाम क्षेत्रको नक्सा आकृतिले आफूलाई विशेष आकर्षित गरेको बताए। संग्राहालय क्षेत्रमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर लगायतका धार्मिक संरचनाले समग्र वातावरणलाई अझ आकर्षक बनाएको आगन्तुकहरूको अनुभव छ।
बागलुङ क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा शालग्राम संग्राहालय महत्वपूर्ण केन्द्रको रूपमा उदाउँदै गएको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन्।








