अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल) ले अमेरिकाको वासिङ्टन डीसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे उच्चस्तरीय छलफल गरेको छ।
डिसेम्बर १ मा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा आयोजित उक्त बैठकमा अमेरिकी डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्शियल सर्भिसेस तथा यूएस चेम्बर अफ कमर्शका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सूचना–प्रविधि, विकसित प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योगलगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफल गरिएको एमच्याम नेपालले जनाएको छ।
नेपालमा निजी क्षेत्रका लागि ठूलो लगानी अवसर रहेको उल्लेख गर्दै एमच्यामले केवल जलविद्युत् क्षेत्रमै १० अर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको सम्भावना प्रस्तुत गरेको थियो।
एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले नेपाल–अमेरिका व्यापार तथा लगानी प्रवर्द्धनमा एमच्याम प्रभावकारी माध्यम बनेको बताउँदै दुवै देशका लगानीकर्तालाई फाइदा हुने गरी ऊर्जा, प्रविधि तथा डिजिटल नवप्रवर्तनजस्ता क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। साथै, उनले व्यापार तथा लगानी वृद्धि गर्न नीतिगत अवरोध हटाउन आवश्यकतामा जोड दिए।
अमेरिकी अधिकारीहरूले पनि नेपालले पछिल्लो समयमा गरेको नीतिगत सुधारको प्रशंसा गरे। यूएस चेम्बर अफ कमर्शका निर्देशक प्याट्रिक पिटले नेपाल सरकारले आइसिटी क्षेत्रमा गरेको सुधारले अमेरिकी निजी क्षेत्रलाई नेपालमा लगानी गर्न सहज बनाएको उल्लेख गरे। पूर्वानुमान योग्य नियम, पारदर्शी कानुन तथा निरन्तर कार्यान्वयन अमेरिकी लगानी आकर्षित गर्ने मुख्य आधार भएको उनले बताए।
बैठकमा एमच्याम नेपालले नवीकरणीय ऊर्जा, डाटा सेन्टर तथा उच्च क्षमताका कम्प्युटिङ सेवामा नेपालको रणनीतिक सम्भावना प्रस्तुत गरेको थियो। नेपालमा करिब ९२ प्रतिशत जलविद्युत् क्षमता अझै विकसित हुन बाँकी रहेको र यस क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानी अनुमति रहेको जानकारी दिने क्रममै अमेरिकी पक्षले नेपालसँगका दीर्घकालीन तथा दिगो लगानी अवसरप्रति चासो व्यक्त गरेको थियो।
दुवै पक्षबीच अमेरिका–नेपाल जलविद्युत् लगानी वेबिनार आयोजना गर्ने, अमेरिकी शहरहरूमा लगानी रोड–शो सञ्चालन गर्ने तथा अमेरिकी लगानीकर्ताका लागि बैंकयोग्य ऊर्जा परियोजनाको पोर्टफोलियो तयार गर्ने सहमति पनि भएको छ।
एमच्याम नेपालले यस सहकार्यबाट अनुदानदेखि व्यापारसम्मका संरचनात्मक सम्भावना अझ मजबुत भएको उल्लेख गर्दै दुवै देशको समृद्धि अभिवृद्धिका उद्देश्यसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।








