रुपन्देहीको सियारी गाउँपालिकामा सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्टले मेरियट इन्टरनेशनलको सहकार्यमा पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ। यो काठमाडौँ उपत्यका बाहिर मेरियट ब्रान्डको पहिलो उपस्थिति हुनेछ।
चालु आर्थिक वर्षको अन्त्यसम्म पाँचतारे अनुमति लिने लक्ष्य राखिएको यस रिसोर्टलाई नेपालकै पहिलो नेचर रिसोर्ट, ग्रीन सर्टिफाइड सस्टेनेबल लक्जरी रिसोर्ट र नेचुरल वेलनेस गन्तव्यका रूपमा विकास गरिनेछ। रिसोर्टमा नेचर भिल्ला, लक्जरी स्पा, योग–ध्यान केन्द्र, थिम रेस्टुरेन्ट, मल्टि–स्पोर्ट्स पूर्वाधार तथा प्रकृतिमैत्री सुविधाहरू रहनेछन्।
लुम्बिनीको धार्मिक–सांस्कृतिक महत्वलाई उजागर गर्न बुद्ध थिम पार्क, सांस्कृतिक कार्यक्रम र स्पिरिचुअल जोनसमेत समेटिनेछ। परियोजनाले स्थानीय रोजगारी सिर्जना, दिगो पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लुम्बिनी प्यालेस रिसोर्टलाई परम्परागत रिसोर्टभन्दा फरक ढंगले विकास गरिएको छ। यहाँ पाहुनाहरू कोठासम्म पुग्न सडक होइन, डुंगामै यात्रा गर्छन्। तालको बीचमा निर्माण गरिएका कोठाहरूमा पुग्न प्रत्येक कोठाका लागि छुट्टाछुट्टै बोटिङको व्यवस्था गरिएको छ, जसले पाहुनालाई सुरुबाटै विशेष अनुभव दिलाउने उद्देश्य राख्छ।
तालकै बीचमा सुपर डिलक्स, हनिमुन र स्वीट रूम सञ्चालनमा छन्। कोठाबाटै तालमा खेलिरहेका माछा हेर्न सकिने मात्र होइन, पाहुनाले आफैं फिसिङ गरेर माछा समात्ने र बार्बिक्यु गरेर खाने अनुभवसमेत लिन सक्छन्। प्रकृतिसँग नजिक रहेर विश्राम र मनोरञ्जन दिने अवधारणा रिसोर्टको मुख्य आकर्षण बनेको छ।
हाल २२ विगाहामा फैलिएको रिसोर्टले करिब १ सय जना नेपाली युवालाई रोजगारी दिएको छ। साथै, रिसोर्ट सञ्चालनका लागि आवश्यक माछा, मासु, तरकारी, फलफूल, दूध–दहीलगायतका सामग्री आफैं उत्पादन गर्दै आएको छ।
छुट्टै १० विगाहा क्षेत्रफलमा ‘रुपन्देही एकीकृत कृषि फार्म’ सञ्चालन गरिएको छ, जहाँ तरकारी खेती, फलफूल उत्पादन तथा भैंसी, कुखुरा र खसी–बोका पालन गरिँदै आएको छ। उक्त कृषि फार्ममार्फत थप १५ जनाले रोजगारी पाएका छन्, जसले स्थानीय उत्पादन र आत्मनिर्भर पर्यटनको अभ्यासलाई समेत प्रवर्द्धन गरेको छ।








