सन् २०२५ मा नेपाली आकाश प्रयोग गरी ५० लाख ४५ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् भने देशभित्रै आन्तरिक उडानमार्फत यात्रा गर्ने यात्रुको संख्या ४५ लाख ६९ हजार पुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार अन्तर्राष्ट्रिय उडानमा २५ लाख ८८ हजार यात्रु नेपालबाट बाहिरिएका छन् भने २४ लाख ३७ हजार यात्रु नेपाल भित्रिएका छन्। अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुवै जोड्दा वर्षभरिमा ९६ लाखभन्दा बढी यात्रुले हवाई सेवा लिएका छन्।
आन्तरिक उडानतर्फ गत वर्षको तुलनामा करिब डेढ लाख यात्रु थपिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ४५ लाखभन्दा बढी यात्रुले आन्तरिक उडानको सेवा लिएका हुन्, जसमा करिब ५१ हजार हेलिकप्टर यात्रु पनि समावेश छन्।
अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम सबैभन्दा अगाडि रहँदै ६ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको छ भने हिमालय एयरलाइन्स दोस्रो स्थानमा छ। आन्तरिकतर्फ अग्रणी बुध्द एयरको यात्रु संख्या भने अघिल्लो वर्षको तुलनामा केही घटेको छ, यद्यपि बजार हिस्सामा उसकै वर्चस्व कायमै छ।
कुल मिलाएर सन् २०२५ मा नेपालको हवाई यातायात क्षेत्रमा यात्रु आवागमन स्थिर वृद्धि र मिश्रित प्रतिस्पर्धाको तस्वीर देखिएको छ।








