फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डले सम्मान गरेको छ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ कीर्तिमान बनाएकी उनलाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डले सम्मान गरेको हो । उनले सन् २०२४ को मे १२, मे १९ र मे २५ मा सगरमाथा आरोहण गरेकी थिइन् ।
पर्यटन विभागका अनुसार श्रेष्ठले बसन्त ऋतुमा शनिबारको दिन बिहान ५ बजेर ५० मिनेटमा सगरमाथाको सफल आरोहण गरेकी हुन् । समग्रमा चौथोपटक सगरमाथामाथि जित हात पारेकी श्रेष्ठ एउटै सिजनमा तीनपक आरोहण गर्ने पहिलो महिला बनेकी छन् ।
यस अवसरमा पर्वतारोही श्रेष्ठले सपना देख्ने हरेक महिलाले दृढ संकल्प, साहस तथा निरन्तर मेहनतका असम्भव देखिने सबै कुरा सम्भव गर्न सकुन् भन्दै सामाजिक सञ्जालमार्फत नारी दिवसको शुभकामना पनि दिएकी छन् ।
साथै, यस ऐतिहासिक यात्रामा साथ र सहयोग गर्ने आफ्नो परिवार, साथीहरू तथा यात्रामा सँगै अघि बढ्ने गाइडलगायत एक्सपिडिसन पार्टनर एटपएक्स्पिडिसनलाई धन्यवाद दिएकी छन् ।
गोरखा आरुघाट गाउँपालिका–१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन् । उनले वि.सं. २०७५ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । उनले २०८० सालको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो के–टु हिमालको आरोहण गरेकी थिइन् । के–टु आरोहण गर्ने उनी चौथो नेपाली पर्वतारोही हुन् । वि.सं. २०७४ देखि पर्वतारोहण आरोहण सुरु गरेकी उनले दुई पटक मनासलु र अन्नपूर्ण, धौलागिरि, कञ्चनजङ्घा, ल्होत्से तथा मकालुको एक एक पटक आरोहण गरिसकेकी छन् । उनी अन्नपूर्ण र धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिलासमेत हुन् ।








