पर्यटकको रोजाइमा पर्न थाल्यो लमजुङको घनपोखरा होमस्टे


टुरिजम पाना लमजुङ । २६ फाल्गुन २०८२

लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ अन्तर्गत पर्ने नायुँ र घनपोखरा क्षेत्र पछिल्लो समय आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। विशेषगरी घनपोखरामा सञ्चालनमा आएको होमस्टे कार्यक्रमले यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढाएको छ।

वि.सं. २०७२ को भूकम्पले क्षति पुर्‍याएको गुरुङ बस्तीलाई पुनर्निर्माण गरी वि.सं. २०७६ देखि होमस्टे सञ्चालन सुरु भएपछि यस क्षेत्रको पर्यटन गतिविधि थप सक्रिय बनेको हो। प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँबाट करिब दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा माथि रहेको घनपोखरा अहिले घुमफिरका लागि लोकप्रिय स्थान बनेका छन्।

यस क्षेत्रबाट मनास्लु हिमाल, ङादीचुली हिमाल र अन्नपूर्ण हिमालसहित एक दर्जनभन्दा बढी हिमालहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ पुग्ने पर्यटकहरूलाई सुन्दर प्राकृतिक दृश्य, स्वच्छ वातावरण र स्थानीयको आत्मीय आतिथ्यले विशेष आकर्षित गर्ने गरेको छ।

घनपोखरा घुम्न आएका पर्यटकलाई स्थानीय घरबास सञ्चालकहरूले गाउँमै उत्पादन गरिएका अन्न र परिकारहरू जस्तै धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, स्थानीय कुखुरा तथा खसीबोकाको मासुबाट बनेका परम्परागत खाना परोस्ने गरेका छन्। साथै स्थानीय संस्कृति जोगाइराख्न रोधी कार्यक्रमसमेत आयोजना गरिन्छ। पाहुनालाई स्वागत र बिदाइका बेला सेतो टीका, फूलको माला र खादाले सम्मान गर्ने परम्परा पनि यहाँ कायम छ।

समुद्री सतहबाट करिब २,१५० मिटर उचाइमा अवस्थित घनपोखरामा गुरुङ समुदायका करिब ६५ घर छन्, जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ। गाउँमा परम्परागत घुमाउने घरको संरचना जोगाइँदै गुरुङ समुदायको कला र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले संग्रहालयसमेत स्थापना गरिएको छ।

नायुँ र घनपोखरामा एकै रातमा करिब १०० जनासम्म पाहुना बस्न सक्ने व्यवस्था रहेको छ। होमस्टे सञ्चालक कालीमाया गुरुङका अनुसार महिनामा करिब ४०० देखि ५०० पर्यटक यहाँ आउने गरेका छन्, विशेषगरी शुक्रबार र शनिबार पर्यटकको संख्या बढी हुन्छ।

होमस्टेमा पुगेका पाहुनालाई वेलकम ड्रिङ्क्स, चिया–कफीले स्वागत गरिन्छ भने राति स्थानीय स्तरमा उत्पादन भएका अग्र्यानिक खाना र बिहानको खाजासहित आवास सुविधा उपलब्ध गराइन्छ। प्रतिव्यक्ति एक रात बसाइँ, खाना र खाजासहित करिब १,२५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना अघि बढाएको छ। अर्जुन गुरुङका अनुसार होमस्टे व्यवस्थापन सुधार गर्न स्थानीय उत्पादनमा आधारित खानालाई प्रोत्साहन गर्नुका साथै सञ्चालकहरूलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम तथा विभिन्न गोष्ठी कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस, पाक्ने काफल र ऐँसेलुले पनि यस क्षेत्रको सौन्दर्य थप बढाउने गर्छ। ग्रामीण जीवनशैली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण घनपोखरा अहिले पर्यटकको मन जित्दै गएको छ।

बेँसीसहरबाट करिब २७ किलोमिटर दूरीमा रहेको घनपोखरा बस वा जिपमार्फत सजिलै पुग्न सकिन्छ। बसमा करिब ३५० रुपैयाँ र जिपमा करिब ४५० रुपैयाँ भाडा लाग्ने गर्छ। पछिल्लो समय बेँसीसहरसँगै काठमाडौँ र पोखराबाट पनि यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको छ।

 

२६ फाल्गुन २०८२