मध्यपूर्वी क्षेत्रमा सुरक्षा अवस्था केही सहज बन्दै गएसँगै त्यहाँ उडान गर्ने केही अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालबाट पुनः उडान सुरू गरेका छन्।
हालसम्म युएईमा पाँचवटा उडान भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
उनका अनुसार फ्लाई दुबइले मार्च ४ बाट उडान सुरू गरिसकेको छ भने एयर अरेबियाले मार्च ६ बाट उडान पुनः सञ्चालनमा ल्याएको छ।
त्यस्तै, हिमालय एयरलाइन्सले पनि हिजोदेखि आफ्नो नियमित उडान सुरू गरेको छ।
‘यी कम्पनीहरूले दुबई, शारजाह र आबुधाबिमा उडान सुरू गरेका छन्। नेपाल एयरलाइन्सले आजबाट गर्ने भनेको छ,’ उनले भने।
उनका अनुसार कतारस्थित विमानस्थलमै आक्रमण भएको कारण कतार एयरवेजले भने अझै नियमित उडान सुरू गरेको छैन।
सोही कारण नेपालमा अड्किएका दुई जहाजमध्ये एउटा जहाज सोमबार यहाँ रोकिएका यात्रुहरू लिएर साउदी अरेबियाको रियाद हुँदै गन्तव्यतर्फ गएको छ।
Premier
अहिलेसम्म कतार एयरवेजसहित केही विमान कम्पनीका नियमित उडान भने सुरू हुन बाँकी रहेको उनले जानकारी दिए।
उनका अनुसार जजिरा एयरवेज, कुबेत एयरवेज तथा कतार एयरवेजको नियमित उडान सुरू हुन सकेको छैन।
मध्यपूर्वी गन्तव्यमा नेपालबाट उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कुल १८ वटा विमान कम्पनी सञ्चालनमा छन्।
सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म बाँकी विमान कम्पनीका उडान कहिलेदेखि सुरू हुने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन।
अमेरिका–इसराइल र इरानबीच द्वन्द्व भएपछि विश्वभरिका उडानहरू प्रभावित भएका थिए।








