काठमाडौं। विश्वव्यापी छोटो भिडियो प्लेटफर्म टिकटक र नेपाल पर्यटन बोर्ड (NTB) ले नेपालको पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यममार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘#VisitNepal’ अभियानअन्तर्गत विशेष कार्यशाला श्रृंखला सुरु गरेका छन्।
तीन दिने यस कार्यशालामा पर्यटन उद्यमी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर, पर्वतारोही, पर्यटन व्यवसायी तथा ट्रेकिङ गाइडहरू सहभागी हुनेछन्। कार्यक्रमको मुख्य उद्देश्य नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, स्थानीय खानाका परिकार, साहसिक पर्यटन गतिविधि तथा लुकेका पर्यटकीय गन्तव्यहरूलाई विश्वसामु प्रभावकारी ढंगले प्रस्तुत गर्न आवश्यक डिजिटल सीप विकास गर्नु हो।
कार्यशालामार्फत सहभागीहरूले छोटो भिडियो निर्माण, डिजिटल स्टोरीटेलिङ, दर्शकसँग प्रभावकारी सम्पर्क विस्तार, सामाजिक सञ्जालमा पहुँच वृद्धि, ब्रान्ड सहकार्य तथा जिम्मेवार कन्टेन्ट निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र अनुभव प्राप्त गर्नेछन्। साथै, टिकटकले पर्यटन क्षेत्रका साना तथा मझौला व्यवसाय, पर्यटन सञ्चालक र ट्रेकिङ गाइडहरूलाई आफ्ना सेवा तथा उत्पादनहरू डिजिटल माध्यमबाट विश्वव्यापी दर्शकमाझ पुर्याउने सीपसमेत प्रदान गर्नेछ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐयर ले पर्यटन प्रवर्द्धनमा डिजिटल नवप्रवर्तनको महत्व बढ्दै गएको उल्लेख गर्दै नेपालका प्राकृतिक सम्पदा, संस्कृति, वन्यजन्तु, आतिथ्यता तथा पर्यटन उत्पादनहरूलाई सिर्जनात्मक र प्रभावकारी रूपमा विश्वसामु प्रस्तुत गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।
उनले डिजिटल माध्यममार्फत अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध अझ सुदृढ बनाउन र नेपालको पर्यटन प्रवर्द्धनलाई एकीकृत स्वरमा अघि बढाउन यस कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मा ले पछिल्लो समय मानिसहरूले यात्रा गन्तव्य, संस्कृति र अनुभवहरू डिजिटल प्लेटफर्ममार्फत खोज्ने तथा बुझ्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै कन्टेन्ट क्रिएटरहरूको भूमिका पर्यटन क्षेत्रमा झन् महत्वपूर्ण बन्दै गएको बताए।
उनका अनुसार टिकटकसँगको सहकार्यले स्थानीय पर्यटन व्यवसायी, कन्टेन्ट क्रिएटर तथा यात्रा पारखीहरूलाई एकै थलोमा ल्याएर उनीहरूको कथावाचन क्षमता विकास गर्ने तथा नेपालको डिजिटल पर्यटन समुदायलाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ। साथै, स्थानीय प्रतिभाहरूलाई व्यावसायिक कन्टेन्ट क्रिएटरका रूपमा विकास गर्दै डिजिटल अर्थतन्त्रको विस्तारमा योगदान पुर्याउने उद्देश्य पनि रहेको उनले बताए।
टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोट्टाकिन ले टिकटकले विश्वभरका मानिसहरूलाई नयाँ गन्तव्य, संस्कृति, परिकार र अनुभवहरू खोज्न तथा बुझ्न सहयोग गरिरहेको उल्लेख गरे।
उनले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमार्फत स्थानीय पर्यटन व्यवसाय, सिर्जनशील समुदाय र कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल स्टोरीटेलिङ सीप प्रदान गर्दै नेपालको अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटन सम्भावनालाई विश्वव्यापी दर्शकमाझ पुर्याउन पाउँदा उत्साहित रहेको बताए।
कार्यशालामा अन्तरक्रियात्मक सिकाइ सत्र, व्यावहारिक कन्टेन्ट निर्माण प्रशिक्षण तथा पर्यटन र डिजिटल क्षेत्रका विज्ञहरूसँग छलफलसमेत समावेश गरिएको छ। यसले सहभागीहरूलाई आकर्षक डिजिटल सामग्री निर्माण गर्न तथा विश्वभरका दर्शकसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।








