पूर्वी नेपालको पर्यटनमा नयाँ ऊर्जा: महिला पर्यटन व्यवसायी सञ्जालको प्रवर्द्धन यात्रा


सुवास थापा इलाम । २२ असार २०८३
फोटो : सुवास थापा

 

पूर्वी नेपालको मनोरम पहाड, हरियालीले ढाकिएका चियाबगान, धार्मिक आस्था बोकेका तीर्थस्थल, जैविक विविधताले भरिपूर्ण प्राकृतिक सम्पदा र मौलिक संस्कृति अहिले नयाँ ढंगले चर्चामा आउन थालेका छन्। यी सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्ने उद्देश्यसहित महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्पन्न उक्त अभियानले पूर्वी नेपालका नयाँ तथा स्थापित गन्तव्यलाई उजागर गर्नुका साथै स्थानीय समुदाय, पर्यटन व्यवसायी र नीति निर्माताबीच पर्यटन विकासका सम्भावना र रणनीतिबारे गहन संवादको वातावरण सिर्जना गरेको छ।

काठमाडौंबाट सुरु भएको यात्राले कोशी ब्यारेज, झापा, इलाम, श्री अन्तु र बराहक्षेत्रलगायतका गन्तव्य समेट्यो। भ्रमणका क्रममा सहभागी महिला पर्यटन उद्यमीहरूले स्थानीय सरकारका प्रतिनिधि, पर्यटन व्यवसायी, होमस्टे सञ्चालक तथा समुदायसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, गन्तव्य व्यवस्थापन तथा सीमा पर्यटनका अवसरबारे विस्तृत छलफल गरेका थिए।

इलामको प्रसिद्ध पर्यटकीय गन्तव्य श्री अन्तुमा आयोजित अन्तरक्रिया कार्यक्रमले पूर्वी नेपालको पर्यटन सम्भावनालाई थप उजागर गर्यो। कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटनका दृष्टिले नेपालकै सबैभन्दा सम्भावनायुक्त प्रदेशमध्ये एक भएको बताउनुभयो।

उहाँका अनुसार पूर्वी नेपालमा रहेका धार्मिक तीर्थस्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिलाई स्थानीय कृषि, संस्कृति र जीवनशैलीसँग जोडेर नयाँ पर्यटन उत्पादन विकास गर्न सकिन्छ। विशेषगरी कृषि पर्यटन (एग्रि–टुरिजम) लाई प्राथमिकतामा राखेर स्थानीय उत्पादन, स्थानीय परिकार, मौलिक संस्कृति तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।

“पर्यटन केवल घुमफिरको माध्यम मात्र होइन, यो स्थानीय समुदायको आर्थिक समृद्धिको आधार पनि हो,” अध्यक्ष बरालले भन्नुभयो, “हरेक स्थानीय तहले आफ्नो मौलिकता पहिचान गरी एकीकृत पर्यटन प्याकेज विकास गर्न आवश्यक छ।”

उहाँले पर्यटन विकासका लागि स्थानीय सरकार, पर्यटन व्यवसायी, होटल तथा होमस्टे सञ्चालक, यातायात व्यवसायी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। साथै पर्यटन क्षेत्रका चुनौती समाधान गर्न सरकारी तथा निजी क्षेत्रबीचको साझेदारी सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

स्थानीय पर्यटन व्यवसायीहरू पनि पूर्वी नेपालका कम परिचित गन्तव्यको सम्भावना उजागर गर्न उत्साहित देखिएका थिए। उनीहरूका अनुसार प्रभावकारी प्रवर्द्धन गर्न सके पर्यटनको प्रत्यक्ष लाभ दुर्गम गाउँसम्म पुग्नेछ। समुदायमा आधारित पर्यटन, ग्रामीण पर्यटन र स्थानीय उद्यमलाई सशक्त बनाउन स्थानीय सरकार, निजी क्षेत्र तथा पर्यटनसँग सम्बन्धित संस्थाबीचको सहकार्य अझ आवश्यक रहेको उनीहरूको भनाइ थियो।

अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालका अनुसार श्री अन्तु नेपालमा सूर्योदय अवलोकनका लागि प्रसिद्ध गन्तव्य हो। प्राकृतिक सौन्दर्यसँगै धार्मिक र ऐतिहासिक महत्व बोकेको यस क्षेत्रले पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउँदै लगेको छ।

उहाँले अन्तुमा न्यून बजेटमा बस्न चाहने पर्यटकका लागि सुविधासम्पन्न होमस्टे तथा उच्चस्तरीय सेवा खोज्ने पर्यटकका लागि फोर स्टार स्तरको होटल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। पर्यटनको दिगो विकासका लागि पूर्वाधार विस्तार, संरक्षण र प्रवर्द्धनलाई सन्तुलित रूपमा अघि बढाउने सरकारी नीति आवश्यक रहेको उहाँले बताउनुभयो।

अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटनको विकासमा होमस्टेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पूर्वी नेपालका गाउँहरूलाई पर्यटनसँग जोड्न होमस्टे सञ्जाललाई थप बलियो बनाउनुपर्ने धारणा राख्नुभयो।

उहाँका अनुसार छोटो दूरीभित्रै फरक–फरक हावापानी, प्राकृतिक दृश्य, जैविक विविधता र सांस्कृतिक अनुभव प्राप्त गर्न सकिने भएकाले पूर्वी नेपाल बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास हुने पर्याप्त सम्भावना बोकेको क्षेत्र हो।

सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले पर्यटनलाई विकासको प्रमुख आधार मानेर सडक, पदमार्ग, पर्यटकीय पूर्वाधार निर्माण, गन्तव्य संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा पनि पर्यटन विकासका विभिन्न योजनाका लागि बजेट विनियोजन गरिएको र महिला, बालबालिका तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो।

यो प्रवर्द्धनात्मक यात्रा केवल गन्तव्य अवलोकनमा सीमित रहेन। यसले पूर्वी नेपालको पर्यटन विकासमा आवश्यक नीति, पूर्वाधार, प्रवर्द्धन र समुदायको सहभागिताबारे साझा दृष्टिकोण निर्माण गर्ने अवसर पनि प्रदान गर्यो। विशेषगरी महिला उद्यमीहरूको सक्रिय सहभागिताले पर्यटन क्षेत्रलाई समावेशी, दिगो र समुदायमैत्री बनाउने दिशामा सकारात्मक सन्देश दिएको छ।

महिला पर्यटन व्यवसायी सञ्जालका अनुसार यस्ता अभियानले नयाँ गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुका साथै स्थानीय समुदायको आयआर्जन वृद्धि, महिला उद्यमशीलताको सशक्तीकरण, ग्रामीण पर्यटन विस्तार तथा दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पूर्वी नेपालको पर्यटन सम्भावना अब केवल सम्भावनामै सीमित छैन। स्थानीय समुदाय, निजी क्षेत्र, सरकार र महिला पर्यटन उद्यमीहरूको साझा प्रयासले यो क्षेत्रलाई नेपालको पर्यटन नक्सामा थप बलियो र आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार हुँदै गएको देखिन्छ।

२२ असार २०८३