अनुमतिबिना विदेशी पर्यटकलाई गौरीशंकर क्षेत्र लैजाने कम्पनीलाई अध्यागमन विभागको कारबाही


टुरिजम पाना काठमाडौं । १ मंसिर २०८२

अनुमति नलिई निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको आरोपमा नेपाल इन्भाइरोमेन्टल ट्रेक्स एन्ड एक्सपिडिसनलाई अध्यागमन विभागले कारबाही गरेको छ। अध्यागमन ऐन, २०४९ बमोजिम उक्त एजेन्सीलाई पहिलोपटकका लागि ४५ हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए।

सो एजेन्सीले दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा इटालीका नागरिकलाई लिएर गएको थियो । उनीहरूलाई आपतकालीन उद्धार गर्नुपर्ने अवस्था भएपछि एजेन्सीले विभागमा अनुमतिका लागि अनुरोध गरेपछि कम्पनीको बदमासी खुलेको छ ।

नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । अध्यागमन नियमावली, २०५१ मा पदयात्रा अनुमति लिई पदयात्रा गर्नुपर्ने पदयात्रा क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ। विदेशी नागरिक लिएर ट्रेकिङ गाइड भीमप्रसाद पनेरू पदयात्रामा गएका थिए। पनेरूलाई कारबाही गर्न पर्यटन बोर्डमा समेत लेखी पठाइएको प्रवक्ता ढकालले बताए ।

नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेतलगायतका विभिन्न जिल्लाका केही क्षेत्रलाई सीमा र सुरक्षा संवेदनशीलताको कारण नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ। ती क्षेत्रमा पदयात्रामा जान विदेशी नागरिकले अनुमति लिनुपर्ने हुन्छ ।

दुई साताअघि विभागले ताप्लेजुङमा अनुमति लिनुभन्दा पहिले नै लैजाने एजेन्सीलाई पनि कारबाही गरेको थियो।

१ मंसिर २०८२