गीतमार्फत धौलागिरीको पर्यटन प्रवर्द्धन गर्दै कलाकार सुवेदी (भिडियो)


टुरिजम पाना काठमाडौं । २० माघ २०७९

चर्चित कलाकार कृष्ण समिप सुवेदीले धौलागिरीको पर्यटन प्रवद्र्धनलाई सघाउ पुर्‍याउने उद्देश्यले ‘सलल काली गङ्गा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

सुवेदीले आफ्नै शब्द, संगीत र स्वरमा सार्वजनिक गरेको गीतमा गायिका दीपिका पौडेलले साथ दिएकी छन् । पर्वतको कुश्मा जन्मिएका सुवेदीले आफ्नो धौलागिरी अञ्चलका समग्र धार्मिक, पर्यटकीय र सांस्कृतीक पक्षहरुबारे जानकारी दिदैं गीतको रचना गरेका हुन् ।

उनले पञ्चासे लेक, मोदीकाली, पार्वतीजन्मभूमी पार्वतीधाम पाङ, बाग्लुङको कालिका, गलकोट, ढोरपाटन, म्यादीको बेनी, शिख, घारा, धारापानी, मुस्ताङको जोमसोम, धौलागिरी हिमाल, पर्वतको जलजला, वाग्लुङ र पर्वत पाङ जोड्ने गण्डकी गोल्डेन ब्रीज, सहर्ष धारा लगायतका धार्मिक एवं पर्यटकीय गन्तब्य बारे गीतमा बखान गरेका छन् ।

यस्तै उनले कालिगण्डकी सभ्यता सहित त्यस क्षेत्रमा हुने सांस्कृतीक महत्वका पञ्चेबाजा र रत्यौलीको समेत समावेश छन् । भिडियोमा सुधिर श्रेष्ठ र नारायणी खत्रीले अधिनय गरेका छन्, भने भिडियोमा सुन्दर पर्यटकीय गन्तब्यको लोभ्याउने दृश्यहरु देख्न सकिन्छ ।

स्थानीय रुपमा गाउँदै आएका गीतका टुक्काहरूको प्रयोगले समग्र गीतलाई झनै स्वादिलो बनाएको छ ।

गायक सुवेदीले आफ्नै भूगोलको महिमालाई लिएर गीत तथा भिडियो बनाएका हुन् ।

‘यस्तो गीत पटक पटक बनाउन सकिँदैन । खर्चका हिसाबले पनि कठिनाई पर्छ । तर आफ्नो गायन यात्रामा आफ्नो भूगोलको महिमा प्रस्तुत गर्दा एउटा छुट्टै आनन्दानुभुती हुदोरहेछ, उनले भने ।

जलजलामा अहिले यो गीत हाम्रो हो भन्दै प्रचार प्रसार भइरहेको समेत उनले बताए ।

समाज र संस्कृतिको आधारमा बनाएको गीतलाई समाजले नै स्वामित्व लिइदिँदा वा स्वीकार गरिदिँदा निकै आनन्द महशुस भएको गायक सुवेदी बताउँछन् ।

२० माघ २०७९