हवाई उडानलाई थप सुरक्षित बनाउन सबै पक्षले जोड दिनुपर्छ: मन्त्री पाण्डे


टुरिजम पाना संवाददाता काठमाडौं । १३ भाद्र २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले हवाइ उडानहरूमा थप सजगता अपनाई यस क्षेत्रलाई सुरक्षित बनाउन सबै पक्षले जोड दिनु पर्ने बताएका छन् ।

वायुसेवा सञ्चालक संघ नेपालद्वारा आयोजित ‘एभिएसन सेफ्टी क्याम्पियन नेपाल’ को ११ औँ संस्करणको उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले भने, ‘विश्वमाझ नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भ्रम फैलिएको छ । सरकार लगायत सम्बन्धित निकायले थप गम्भिरतापूर्वक यस क्यान्पियनलाई सफल पार्नुका साथै हाम्रो हवाई क्षेत्र सुरक्षित रहेको विश्वसनियता बढाउन जरुरी छ ।’

यस्तै, क्यानका महानिर्देशक प्रदीप अधिकारीले विगतको तुलनामा हवाई उडान क्षेत्रमा निकै परिवर्तन आएको तर सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको बताए ।

‘हाल नयाँ जहाज थप्ने अवस्था छैन । विमानस्थलहरू पर्याप्त छन् तर एयरक्राफ्टको अभावमा सञ्चालनमा आउन सकेका छैनन्,’ उनले भने ‘हालै सरकारले पोखरा र भैरहवाको विमानस्थलका लागि प्याकेजको व्यवस्था गरेको छ । जुन सकारात्मक हो ।’

दुई दिने उक्त तालिममा उड्डयन क्षेत्रमा आवद्ध विभिन्न संघसंस्था एवं एयरलाइन्सहरूलाई हवाइ सुरक्षा सम्बन्धि तालिम दिइनेछ । तालिमको मुख्य उद्देश्य उड्डयन क्षेत्रको विश्वस्तरीय सुरक्षा र यसको वर्तमान समस्या तथा चुनौतिको समाधानका लागि पहल गर्ने रहेको बताइएको छ । साथै उड्डयन क्षेत्रलाई व्यवस्थित गर्नसमेत यस तालिमले सहयोग गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रममा हेली एभरेष्ट, बुद्ध एयर, प्रभु हेलिकप्टर, फिसटेल एयर, समिट एयर, तारा एयर लगायत विभिन्न एयरलाइन्सहरूको सहभागिता रहेको छ ।

१३ भाद्र २०८१