बागलुङ कालिका मन्दिर जिर्णोद्धार


टुरिजम पाना वाग्लुङ । १० फाल्गुन २०७९

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।

धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् । दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ ।

मन्दिरको बाहिरी संरचनामा कलात्मक रुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो”, उनले भने, “दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो ।” मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ । सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउछन् ।

रु २६ लाखको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो । सत्तल निर्माणमा रु ७० लाख र हवनकुण्ड निर्माणमा रु १३ लाख खर्च लाग्ने समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारपछि चिटिक्क देखिएको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ ।

१० फाल्गुन २०७९