विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुरमा भोलि ‘सडक खाना महोत्सव’ हुँदै


वसन्त पौडेल बन्दीपुर । ९ आश्विन २०८०

पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बुधबार सडक महोत्सव हुने भएको छ ।

ब‍न्दीपुर गाउँपालिका तथा बन्दीपुर पर्यटन विकास समितिको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर सडक महोत्सव आयोजना गर्न लागिएको समितिका अध्यक्ष किसन प्रधानले टुरिजम पानालाई जानकारी दिए ।

उनका अनुसार, महोत्सवमा बन्दीपुरको स्थानीय संस्कृति देखाउने कार्यक्रम, नाचगान तथा सडक खाना महोत्सव जस्ता गतिविधि हुनेछ ।

महोत्सव बुधबार बिहान ९ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने प्रधानले जानकारी दिए ।

बन्दीपुरको पर्यटन प्रवर्द्धन तथा बाह्य तथा आन्तरिक पर्यटकहरूलाई आकर्शित गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको प्रधानको भनाइ छ । महोत्सवमा ३ हजारको हाराहारीमा पर्यटक बन्दीपुरमा पुग्ने अपेक्षा गरिएको प्रधान बताउँछन् ।

बन्दीपुरमा यसअघि नयाँ वर्षको अवसरमा सडक खाना महोत्सव सम्पन्न भएको थियो ।

सडक खाना महोत्सवका अवसरमा बन्दीपुरको स्थानीय कला संस्कृति प्रदर्शन गरिएको थियो । यहाँका नेवार, मगर, गुरुङ, ब्राम्हणलगायत जातजातिका कला संस्कृति प्रदर्शनले महोत्सवमा छुट्टै रौनकता थप्ने प्रधान बताउँछन् ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुरमा होटल दरबार हिमालय, गाउँघर, बोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, रेड हाउसलगायत होटल सञ्चालन छ । बन्दीपुरमा अहिले केवलकारसहितको चार तारे होटल बन्दैछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

९ आश्विन २०८०